झापा,जेठ २६ । यस वर्षको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले झापामा ८ वटा वडाध्यक्ष पद मात्र जितेको छ । गत स्थानीय तहको निर्वाचनमा ६ वटा वडाध्यक्ष जितेको माओवादी केन्द्रले पाँच वर्षपछि भएको निर्वाचनमा पनि सुधारिएर जनताको मत तान्न सकेन ।

यस वर्षको निर्वाचनमा नेपाली कांग्रेससंग चुनावी गठबन्धन गर्दा समेत माओवादीले झापामा राम्रो नतिजा ल्याउन नसकेको हो । कांग्रेससँग गठबन्धन नगरेको भए झापामा माओवादी पत्तासाफ नै हुने थियो भनेर विश्लेषण गरिएको छ ।

विगतलाई हेर्ने हो भने २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी पार्टीले जिल्लाका ७ वटा निर्वाचन क्षेत्रमध्ये ५ वटा जितेको थियो । त्यसपछि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले जिल्लाको एउटै स्थानमा पनि विजय हासिल गर्न सकेन । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र राप्रपासंग गठबन्धन गरेर चुनाव लड्दा माओवादीले जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये एउटा जितेको थियो भने प्रदेशसभाको १० वटा सिटमध्ये दुईवटामा विजय हासिल गरेको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमै चौथो स्थानमा झरेको माओवादी यस वर्षको निर्वाचनमा पनि त्यही वरियतामा सीमित रह्यो ।

अहिलेको नतिजाबाट पाठ सिकेर माओवादी पार्टीले स्थिति सुधार नगर्ने हो भने, कार्यशैलीमा परिवर्तन नगर्ने हो भने यही ट्रेन्डले आगामी दिनमा अझ खस्किने बाम बुद्धिजीवि लीला उदासीको विश्लेषण छ । ‘पत्तासाफ नै नभनौं यही ट्रेन्डले माओवादी अझ खस्किन्छ ’ उनले भने ,‘ पार्टीले कार्यशैलीमा सुधार गर्न जरुरी छ ।’ उनका अनुसार कांग्रेससंग गठबन्धन नगरेको भए माओवादी अझै कमजोर हुन्थ्यो । तर , माओवादीका नेता कुवेर श्रेष्ठ कांग्रेससंग गठबन्धन गरेरै माओवादी कमजोर भएको तर्क गर्छन् । कांग्रेसले अन्तर्घात गरेपछि आफ्नो पार्टीको मतले मात्र ७ वटा वडाध्यक्ष जितेको उनले दावी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्