झापा , जेठ २६ । शिवसताक्षी नगरपालिका-१ मा जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको उद्घाटनसहित विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

शिवसताक्षी नगरपालिका- १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयको जापान सरकारको सहयोगमा निर्माण गरिएको भवनको एक कार्यक्रमका बीच उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । भवनको प्रमुख अतिथिद्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र जापान एम्बेसी डेपुटी चिफ मिसन तामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त भवन जापान सरकारको १ करोड ३६ लाख र शिवसताक्षी नगरपालिकाबाट १७ लाखको लागतमा निर्माण गरिएको लक्ष्मी नारायण माध्यमिक विद्यालयले जनाएको छ । भवन २ तले गरी ६ कोठाको रहेको छ । कार्यक्रममा नगरप्रमुख थोप्राले जापान सरकारले नेपालमा लगानी गरी विद्यालयको भौतिक अवस्थामा सुधार गरिदिएकोमा धन्यवाद दिएका थिए । विद्यालयको भौतिक सुधार साथै अब शैक्षिक सुधार गर्नु पर्नेमा उनको जोड थियो । सामुदायिक विद्यालयलाई समय सापेक्ष सुधार गरी विद्यार्थीहरू बस्ने डेस्क, बेन्च, विभिन्न कक्षा कोठाहरूमा विभिन्न सजावट गर्दै विद्यार्थी ध्यान पठाइमा लैजाने वातावरण बनाउनु पर्ने नगरप्रमुख थोप्राको भनाई थियो । शिक्षकहरूलाई आवश्यक पाठ्यक्रम अनुसारको तालिमहरू दिई शिक्षण सिकाइमा कन्जुस्याइँ नगर्न शिक्षकहरूलाई सुझाए । बाँकी रहेका भवनहरूलाई पनि निर्माण कार्य सम्पन्न गर्न नगरपालिकासँग कार्य योजनासहित कागजात पेस गर्न समेत उनले बताए ।

त्यस्तै जापान सरकारको तर्फबाट प्रमुख अतिथि समेत रहेका तामूरा ताकाहिरोले समाजमा रहेका अति विपन्न समुदायहरू अध्ययन गर्ने शिक्षण क्षेत्रमा लगानी गरी विद्यार्थीहरूलाई अध्ययन गर्ने वातावरण बनाउन जापान सरकारले अनुदान सहयोग गरेको बताए । यस्ता सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन जापान सरकारको योगदान पनि हुने नेपाल र जापान बिचको मित्रता झनै बलियो भएर जानको उनको भनाई थियो । उनका अनुसार जापान सरकारले नेपालका २ सय विद्यालयहरूमा अनुदान सहयोग गरी भौतिक पूर्वाधार निर्माण गरेको छ । कार्यक्रममा लक्ष्मीनारायण विद्यालय र जापान सरकारसँग जोड्न भूमिका खेल्ने शिक्षा प्रेमी तथा अधिवक्ता अम्बरबहादुर थापालाई सम्मान गरिएको थियो । त्यस्तै निवर्तमान वडाध्यक्ष सुवास राई, शिवसताक्षी नगरपालिकालाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्जेलले जानकारी दिए । नगरपालिकाको तर्पmबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले सम्मान पत्र ग्रहण गरेका थिए । त्यस्तै विद्यालय भवन निर्माणमा प्रत्यक्ष रुपमा सहयोग प्रदान गर्ने विद्यालय भवन निर्माण समितिका अध्यक्ष भिमबहादु खवास, पाथीभरा कन्स्ट्रक्सन जीवन न्यौपाने, शिक्षक अकलबहादुर भुजेल, सन्त वीर माझी, सामाजिक व्यक्तित्व गोपाल खत्री, विराट किराँती, डम्बर दाहाल, दुर्गा चेम्जोङ्ग, पूर्व शिक्षक माधव भण्डारी, निर्माण व्यवसायी बमबहादुर बोहोरा र शिक्षक कुमार खतिवडालगायतलाई विद्यालयले सम्मान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्