झापा , जेठ २७ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट जाँचपास गरी राजश्व तिरेर छुटेका भारतीय नम्बर प्लेट भएका तीन वटा ट्रक राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको छ ।


सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट काँकडभिट्टा र राजस्व अनुसन्धान इटहरीको संयुक्त टोलीले तीन वटा ट्रक जेठ २२ गते राति पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगरस्थित जोरसिमलबाट नियन्त्रणमा लिएको हो । कम भन्सार मूल्याङ्कन र प्रज्ञापनपत्रमा भए भन्दा फरक सरसामान भएको कारण ती ट्रकहरू नियन्त्रणमा लिएको बुझिएको छ । नियन्त्रणमा लिएका ट्रकहरू डब्लुबी ३७ वि ७३९३, एनएल ०१ जी ९९५२ र डब्लुबी १९ जे ७९२० रहेका छन् । लालिगुँरास ट्रेडर्सको नाममा प्रज्ञापन रहेको उक्त ट्रकहरूमा क्रमशः ६ हजार ५ सय ९३, ६ हजार ५ सय ९३ र ६ हजार ५ सय ५३ रुपैयाँ भन्सार दाखिला भएको रसिद काटिएको छ । ट्रकहरूमा भन्सार भएको भन्दा फरक बस्तु भएको सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा कैफियत भेटिएको सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारीले जानकारी दिए ।

उनका अनुसार आलु भनेर भनिएको ट्रकमा एउटामा बिरुवा तथा अन्य दुईमा आलु रहेको छ । विगतमा समेत यस्ता कैफियतहरू भेटिएको र त्यसको ठोस अनुसन्धान नभएको भन्सार स्रोतले बताएको छ । गत जेठ ९ गते प्रदेश नं १-०१-००१ च ७८८६ नम्बरको पिक अप सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट काँकडभिट्टाले नियन्त्रणमा लिएको थियो । उक्त गाडीको र प्रज्ञापनमा भएको नम्बर नै फरक भएपछि उक्त पिक अप नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए । उनका अनुसार प्रज्ञापनपत्रमा उल्लेख भएको गाडी नम्बर मे १ च ५२०२ हो तर, प्रदेश नं १-०१-००१ च ७८८६ नम्बरको गाडीमा सामान बोकेर ल्याइएको थियो । यता घटनाको विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तीर्थ खनालसँग बुझ्न खोज्दा उनको दुवै मोबाइल बन्द छ । उनले प्रयोग गर्ने व्यक्तिगत र कार्यालय प्रयोजनको मोबाइल समेत बन्द राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्