भद्रपुर, जेठ २९ ।सदरमुकाम भद्रपुरमा रहेको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको यहि असार ४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

अध्यक्षका प्रत्यासी स्वतन्त्र उम्मेदवार यादवप्रसाद भट्टराईसहित प्रजातान्त्रिक समूहका तर्फबाट गोविन्द लम्साल र प्रगतिशील राष्ट्रवादी साझा समूहका तर्फबाट वर्तमान अध्यक्ष पुरुषोत्तम अधिकारीले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
एउटै ब्यक्ति पटकपटक नेतृत्वमा पुग्दा खानेपानीमा अराजकता निम्तने र स्वच्छ खानेपानी वितरणमा एकरुपता नआउने भन्दै समग्र खानेपानीको विकासका लागि आफ्नो उम्मेदवारी रहेको प्रजातान्त्रिक समूहका तर्फबाट उम्मेदवार बनेका लम्सालले बताए । कहिले कालो त कहिले खानेतेल जस्तो धारामा पानी आउने समस्या अन्त्य गर्न र निरन्तर स्वच्छ पानी वितरण गर्न आफ्नो उम्मेदवारी रहेकाले सबै उपभोक्ता मतदाताले आफूलाई विजयी गराउनेमा पूर्ण बिश्वस्त रहेको लम्सालको भनाई छ ।
राप्रपा र एमालेसहितको प्रगतिशील राष्ट्रवादी समूहका तर्फबाट साझा उम्मेदवार बनेका वर्तमान अध्यक्ष अधिकारीले भने खानेपानीका अपुरा कार्यहरुलाई पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । खानेपानीलाई थप चुस्त दुरुस्त राख्दै सफा स्वच्छ खानेपानी वितरण गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै अधिकारीले आममतदाताले आफूलाई मतदान गरी विजयी गराउनेमा बिश्वस्त रहेको भनाइ राखे । प्रगतिशील राष्ट्रवादी साझा समूहमा एमाले र राप्रपाको गठबन्धन छ भने प्रजातान्त्रिक समूहबाट नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ ।
प्रजातान्त्रिक समूहबाट उपाध्यक्ष पदमा उत्तम कोईराला , सचिवमा ऋषि चापागाई , सहसचिवमा महेन्द्र कोईराला र कोषाध्यक्ष पदमा लावण्यकुमार पोखरेल,३ जना खुला , ३ जना महिला सदस्यसहित ६ जना र लेखा समिति सदस्यमा ३ जना गरी १४ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरी प्रगतिशील राष्ट्रवादी साझा समूहका तर्फबाट उपाध्यक्ष पदमा बाबुराम पराजुली, सचिवमा बाबुराम कार्की, सहसचिवमा झुमा शिवाकोटी दाहाल र कोषाध्यक्ष पदमा खेमराज भट्टराईलगायत सदस्यसहित १४ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
जम्मा १४ जना उम्मेदवारहरु निर्वाचित हुनु पर्नेमा एकजना स्वतन्त्रसहित २९ जना उम्मेदवारहरु चुनावी मैदानमा रहेको निर्वाचन समिति संयोजक टंकप्रसाद दंगालले जानकारी दिए ।
प्रत्येक ३ –३ बर्षमा हुन गईरहेको यस खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा विर्तामोड नगरपालिका वडा नं ८ का केही उपभोक्तासहित चार हजारबढी उपभोक्ताहरु सदस्य रहेका छन् ।