झापा , जेठ ३० । नेपाली कांग्रेसभित्र यति धेरै असन्तुष्टि बढेको छ कि स्थानीय निर्वाचनमा बागी उम्मेदवारी दिनेहरुले समानान्तर समिति गठनसमेत गर्न थालेका छन् ।


स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा देखिएको असन्तुष्टि बागी उम्मेदवारीमा मात्र सीमित नरही पार्टीलाई नै चुनौती दिनेगरी विद्रोहीहरुले समानान्तर समिति गठन गर्न थालेका हुन् । बिर्तामोड ९ मा वडाध्यक्षका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जयराज ढकालसहितले समानान्तर समिति निर्माण गरेका छन् । शनिबार भएको असन्तुष्ट कार्यकर्ताहरुको भेलाले हालका पार्टी वडा उपसभापति नरेन्द्र प्रसाई सभापति रहेको समानान्तर वडा समिति गठन गरेको हो । २६ सदस्यीय सो समितिको उपसभापतिमा मदनकुमार थपलिया ,खेमराज पौडयाल , सचिव जयराज ढकाल ,जोसन प्रसाई, सहसचिव निरुपा राजवंशी र शिव प्रसाई रहेका छन् । त्यस्तै सदस्यहरुमा सुष्मा ढकाल ,तारा पाठक , पार्वती पौडेल ,कृष्णप्रसाद भट्टराई , हरि सिटौला , कमलप्रसाद पाठक , प्रदीप राजवंशी , शर्मिला राजवंशी ,कृष्णमाया पौड्याल , रामबहादुर न्यौपाने , योगिन्द्रा दाहाल , भिमराज प्रसाई , छविलाल घिमिरे , गौरीप्रसाद घिमिरे , धनबहादुर थापा , नन्दराज तामाङ र भरतप्रसाद न्यौपाने रहेका छन् । क्षेत्रीय प्रतिनिधिहरु जयराज ढकाल , भिमराज प्रसाई भरतप्रसाद न्यौपाने ,सुष्मा ढकाल , कृष्णप्रसाद भट्टराई र गौरीप्रसाद घिमिरेको उपस्थितिमा भएको भेलामा ६८ जना सक्रिय र साधारण कार्यकर्ताहरुको उपस्थिति रहेको जनाइएको छ ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस गर्नेक्रममा पार्टीका वडा सभापति बासु अधिकारीले विगतको निर्णयलाई बेवास्ता गरी माओवादीका उम्मेदवारलाई वडाध्यक्षमा सिफारिस गरेको भन्दै उनीप्रति भेलाले आक्रोश व्यक्त गरेको छ । त्यसरी आफूखुशी निर्णय गर्ने व्यक्तिका कारण पार्टी समाप्त हुने भएकाले उनलाई वडा सभापति स्वीकार गर्न नसक्ने भन्दै अर्को समानान्तर समिति निर्माण गरिएको जनाइएको छ । यस्ता समानान्तर समितिहरु अन्य वडासंगै नगरमा पनि निर्माण गरिने क्षेत्रीय प्रतिनिधि कृष्णप्रसाद भट्टराईले बताए । स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरु स्वतः निलम्बनमा परेको कांग्रेसको केन्द्रीय समितिले सूचना जारी गरिरहँदा त्यसलाई चुनौती दिँदै बागी उम्मेदवारले समानान्तर समिति गठन गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्