झापा , जेठ ३१ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।

मंगलबारको संसद बैठक सुरु भएलगत्तै सुरुमै समय माग गरेर बोलेका नेता पाण्डेले अर्थमन्त्री शर्माले पारदरर्शी काम गर्न नसकेकोले पदमा रहिरहन नमिल्ने भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । शर्माले बजेट प्रस्तुत गर्ने दिनको अघिल्लो दिन केही व्यक्तिले बजेट काँटछाँट गरेको आरोपलाई संसद् भवनमा आएर खण्डन गर्न नसक्नु आपत्तिजनक रहेको पाण्डेको आरोप छ । प्रतिनिधिसभामा पाण्डेले अर्थ मन्त्रालयले बजेट बनाउने अभ्यास र तरिकाबारे स्पष्ट पार्दै उनले भने , ’ मन्त्रालयमा अभ्यास के छ भने बजेट संसदमा प्रस्तुत गर्नुपूर्व मन्त्रालयमा कसैलाई प्रवेश गर्न पाइँदैन। त्यहाँ मन्त्रीको बाहेक मन्त्रालयका सबै कर्मचारीका फोनहरू दराजमा राखिने गरिन्छ । ’ मन्त्रालयका कर्मचारीलाई बाहिरबाट ल्याइएका मान्छेले भनेअनुसार बजेट काँटछाँट गर्नुस् भन्ने शर्माको निर्देशन ज्यादै आपत्तिजनक रहेको पाण्डेले बताए । यति धेरै आरोप लाग्दै गर्दा शर्मा पदमा बसिरहन लायक नभएको टिप्पणी गरे । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयगत बजेटबारे जारी छलफल चलिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्