झापा , असार १ । आईसीसी विश्वकप लिग टु क्रिकेटमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

टेक्ससमा मंगलबार राति मोसा क्रिकेट मैदानमा ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । आसिफले ६२ रन बनाए । कुशल ५६ रनमा आउट भए । यस्तै देव खनाल १० रनमा आउट भए । रोहित पौडेल २६ रनमा अविजित रहे । दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे। ओमानका फायज बुटले २ तथा खवर अलिले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले ५२ रनको अर्धशतकीय इनिङ खेले। सन्दीप गौडले ४७ रन जोड्दा जतिन्दर सिंहले २३ रन जोडे। ओमानलाई सस्तैमा समेट्न करण केसीले ५ विकेट लिए। कप्तान सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए । यस जितसँगै नेपालको १५ खेलमा १५ अंक भएको छ । नेपाल पाँचौं स्थानमा उक्लिएको छ । ओमान ३६ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ। नेपालले ओमानविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्