बिर्तामोड , असार २ । विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील बिर्तामोडकी भगवती मेचे स्वयं जातीय विभेदको शिकार भएकी छन् ।

खरेलसंग अन्तरजातीय विवाह गरेकी भगवतीलाई ससुराको निधन हुँदा परिवारसंगै कोरामा बस्न नदिई विभेद गरिएको हो । भीमप्रसाद खरेलको निधन भएपछि उनका ७ छोरा, ७ बुहारी र ३ छोरीमध्ये माइली बुहारी भगवतीलाई संगै कोरामा बस्न नदिई अलग राखिएको छ ।
२९ वर्षअघि भगवतीले पुण्य खरेलसंग भागी विवाह गरेकी थिइन् । उनका २७ वर्षका छोरा छन् । गत जेठ २२ गते भीमप्रसादको निधन भएको हो । भीमप्रसादको निधनपछि कान्छा छोरा खेम खरेलको घरमा सबैजना कोरामा बसेका छन् भने भगवतीलाई अन्तरे छोरा झमकलाल खरेलको घरमा एक्लै राखिएको छ । उनले त्यही घरमा ससुराको काजक्रिया गरिरहेकी छन् ।
वीरता लेडी जेसीजकी मानार्थ सदस्य , महिला मुक्ति आवाजकी सदस्यलगायत विभिन्न संघसंस्थामा आवद्ध भगवतीलाई ‘बस्ने ठाउँ छैन’ भनेर संगै कोरामा बस्न नदिएको जनाइएको छ । ‘बस्ने ठाउँ छैन , ट्वाइलेट छैन बाथरुम छैन भनेर आफूलाई संगै कोरामा बस्न दिइएन’ उनले भनिन् ‘ म उनीहरुसंगै क्रियामा बस्दा घरै बिटुलो हुन्छ अरे ।’ उनले आदिवासी समुदायको हो भनेर आफूलाई विभेद गरेको गुनासो गरिन् । विवाह भएर आएपछि सासु ससुराको हेरचाह , देवर नन्दको पालनपोषण र पठनपाठनका लागि जिन्दगी नै बिताएको बताउँदै उनले यति धेरै मरिमेट्दा यतिबेला आफूलाई यस्तो व्यवहार गर्दा अत्यन्त दुःख लागेको भनाइ राखिन् ।
भगवतीका श्रीमान् पुण्य खरेल नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा पूर्व कार्यालय सचिव हुन् । उनले आफ्नो परिवारले श्रीमती भगवतीमाथि विभेद गरेको स्वीकारे । दाजुभाइ र घरपरिवार अगाडि आफू चुप लागेर बस्न बाध्य भएको उनले बताए । पुण्यका दाजु अर्जुन खरेल नेकपा एमाले बिर्तामोड ४ नं वडा कमिटीका अध्यक्ष हुन् भने उनकी श्रीमती इन्दिरा खरेल लायन्स क्लब अफ बिर्तामोडकी सचिव र खरेल बन्धु समाजकी कोषाध्यक्ष हुन् ।
भगवतीमाथि भइरहेको अन्याय र विभेदको सामाजिक अभियन्ताहरुले आलोचना गरेका छन् । महिला मुक्ति आवाजकी अध्यक्ष राधा सुब्बाले अन्तरजातीय विवाह गरेकी भगवतीले देवरको घरमा एक्लै बस्नु परिरहेको थाहा पाईपाई बोलिदिने कोही नहुनु विडम्बना भएको बताइन् ।