कुमरखोद असार २ । झापा गाउँपालिकामा बन्दै गरेको हुलाकी राजमार्गको काम अब सुचारु हुने भएको छ ।

गत चैत २६ गते स्थानीय जनप्रतिनिधि र स्थानीयवासीले इस्टिमेट अनुसार ठेकेदार कम्पनीले कालोपत्रे नबनाउने बताएपछि काम रोकेका थिए ।
हुलाकी राजमार्ग बनाउन ठेक्का पाएको पि.एस÷गजुरमुखी÷मोतीदान जेवीले झापा बजारक्षेत्रमा १२०० मिटर लम्वाईमा ७२ फिटको चौडाई बाटो बनाएपनि कालोपत्रे ४६ फिट मात्र बनाउन लागेपछि विरोध भएको थियो । वडा नं २ का नवनिर्वाचित वडा अध्यक्ष हिमालकुमार चम्लागाईको नेतृत्वको टोलीले हुलाकी राजमार्गको कालोपत्रेको काममा अवरोध गरेको थियो ।
बिहीबार झापा गाउँपालिकाको वडा नं ४ को कार्यालयमा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा बसेको त्रिपक्षीय छलफलमा तीन बुँदे सहमति भएको हो । हुलाकी राजमार्ग बनाउने ठेकेदार कम्पनीले बजारक्षेत्रको १२०० मिटर लम्वाईमा राजमार्गको दुवै भागमा १३–१३ फिटमा माटो भरेर ग्राभेल हालेर रोलरले मिलाईदिने र झापा बजारदेखि पश्चिम कमानसिंह लिम्बूको घरदेखि पश्चिम सानोमाई खोलासम्म पानी निकासको लागि तत्काल पैनी बनाउने , झापा गाउँपालिका अध्यक्ष शाह र हुलाकी आयोजनाका ईन्जिनियर दिपेन्द्र चौधरीले राजमार्गको दुवै छेउमा ईन्टरलक व्लक राख्नका लागि ठेकेदार कम्पनीको मुख्य कार्यालयसंग माग गर्ने सहमति भएको हो ।
त्रिपक्षीय छलफलमा हुलाकी राजमार्ग आयोजना हेर्ने ईन्जिनियर दिपेन्द्र चौधरी , हुलाकी राजमार्ग बनाउने ठेकेदार कम्पनीका तर्पmवाट मनोज उप्रेती र छत्रमणि नेपाल , वडा नं २ का वडाध्यक्ष चम्लागाई , वडा नं ४ का महमद ताहिर , झापा बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवाल , सागिरथप्रसाद गणेश , कुमरखोद रेडक्रस उपशाखाका सुन्दरलाल गणेश , समाजसेवी मनिराज गणेश , राजकुमार कोचलगायतको उपस्थिति रहेको थियो ।