बिर्तामोड, असार ४ । बिर्तामोड नगरपालिका क्षेत्रमा लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ ।

डेंगुलगायत किटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको हो । वडा नम्बर १को कार्यालयमा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच अभियानको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले विषादी छर्किने प्राविधिकहरु तालिम प्राप्त रहेकोले सिकेको सीपलाई सुरक्षित तवरले प्रयोग गर्न सुझाव दिइन् । लापर्वाही ढंगले काम गर्दा आफ्नो स्वास्थ्यमा समेत क्षति पुग्ने भन्दै उनले सीपलाई इमान्दारिताका साथ पालना गर्नु पर्ने बताइन् ।
यस्तै वडाध्यक्ष अग्निप्रसाद पाण्डेले प्राविधिकहरुलाई निर्देशनअनुसार काम गर्न आग्रह गरे । उनले विषादी छर्किने स्थलमा टोल विकास संस्थाका पदाधिकारी तथा वडाका जनप्रतिनिधिहरुले सहयोग गर्ने बताए ।
]यो अभियान असार १७ गतेसम्म सञ्चालन हुनेछ । अभियानमा विषादी छर्किने तालिम प्राप्त २५ जनाको टोली खटिएको जनस्वास्थ्य निरीक्षक ओमबहादुर खड्काले जानकारी दिए । वडा नम्बर १मा ४ र ५ गते,वडा नम्बर ५मा ६ र ७ गते,वडा नम्बर ३मा ८ र ९ गते,वडा नम्बर ४मा १० र १५ गते,वडा नम्बर २मा १२ गते,वडा नम्बर ६मा १३ गते,वडा नम्बर ७मा १४ गते,वडा नम्बर ८मा १५ गते,वडा नम्बर ९मा १६ गते र वडा नम्बर १०मा १७ गते विषादी छर्किने तालिका रहेको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । एकपटक छर्किएको विषादीले ३ महिनासम्म प्रभावकारी रुपमा काम गर्ने जनाइएको छ ।