झापा , असार ४ । स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने बाह्रदशी १ को नेकपा एमाले वडा कमिटी बर्खास्त गरिएको छ ।

अन्तर्घात गर्नेहरुलाई हटाएर एमालेको वडा कमिटी पुनर्गठन गरिएको छ । वडा कमिटीमा रहेका अध्यक्ष देवीबहादुर थापा , उपाध्यक्ष कुमार कोइरालालगायतलाई कार्वाही गरिएको हो । ती दुवैले एमालेका वडाध्यक्ष पदका उम्मेदवार शम्भुसिंह राजवंशीलाई असहयोग गरी माओवादीका उम्मेदवार भूमिराज थापालाई सहयोग गरेका थिए । माओवादी उम्मेदवार भूमिराज थापाको उम्मेदवारीमा एमालेका देवीबहादुर थापा समर्थक बसेका थिए । त्यस्तै कोइराला माओवादीको लागि भोट माग्दै हिडेका थिए । पार्टीको वडा नेतृत्वले अन्तर्घात गरेपछि एमालेका उम्मेदवारहरुले हार व्यहोर्नु परेको थियो ।

शनिबार भएको वडा भेलाले सो कार्वाहीको निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य हरि राजवंशीको प्रमुख आतिथ्यमा भएको भेलामा क्षेत्र नं ३ का अध्यक्ष लक्ष्मण पाठक ,गाउँ कमिटी अध्यक्ष बुद्धराज कार्की , सचिव घनेन्द्र ढकाल , सहसचिव मानबहादुर राजवंशी , गंगा धमलालगायत वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो । भेलाले श्यामकुमार तामाङको अध्यक्षतामा वडा कमिटी पुनर्गठन गरेको हो । जसमा पहिलाका सचिव हिरदानन्द राजवंशी , सहसचिव खेममाया राईलाई यथावत राखिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्