हल्दिबारी , असार ५ । दिपेन्द्र आधारभूत विद्यालय हल्दिवारी ४ का संस्थापक प्रधानाध्यापक दिर्घराज आचार्यलाई एक विशेष कार्यक्रम आयोजना गरी बिदाई गरिएको छ।

२०४४ सालबाट सोही विद्यालयको प्र.अ भएर हालसम्म कार्यरत उनले अनिवार्य अवकाश पाएका हुन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रन्जित मेचेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, शिक्षिका, विधार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्व व्यवस्थापन समिति अध्यक्ष विशुलाल मेचेले प्रअ दिर्घराजको अथक प्रयासबाट नमुना विद्यालय बनाउन सफल भएको स्मरण गर्दै उनले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । सम्मानित व्यक्तित्व आर्चायले मेचे जातिको बाहुल्यता रहेको ऐनाबारीमा सुरुवातको दिनहरुमा भाषाको कारण पठनपाठनमा केही असहज भएपनि सबैको दर्विलो साथ र शिक्षा आर्जनमा लगनशीलताको कारण नै विद्यालयको अवस्था फेरिएको भन्दै तीन दशकभन्दा बढी एउटै विद्यालयमा बिताउन पाएकोमा खुसी व्यक्त गरे ।सकेसम्म विद्यालयको हित हुने काममा आफ्नो संलग्नता भईरहने भन्दै उनले आगामी सरस्वती पुजाको दिन उद्घाटन गर्नेगरी विद्यालय परिसरमा सरस्वती मन्दिर स्थापना गर्ने वचनबद्धता व्यक्त गरे ।

यस्तै प्रमुख अतिथि छवि चुडालले आचार्य हल्दिवारीमा शिक्षाको क्षेत्रका अग्रज व्यक्तित्व भएको भन्दै उनलाई बिदाई गरेपनि आगामी दिनमा पनि विद्यालयको शैक्षिक सुधारमा निरन्तर साथ सहयोगको अपेक्षा रहने धारणा राखे ।

सोही कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट अंक ल्याउने विधार्थीहरुलाई सम्मान गरिएको थियो । हाल ३२३ विधार्थी रहेको सो विद्यालयमा मेचे भाषामा पनि पढाइ हुँदै आएको छ। शिक्षक, विधार्थी, पूर्व विधार्थीहरुले मायाको चिनो प्रदान गरी हल्दिवारी गाउँपालिका क्षेत्र परिक्रमा गराएर आचार्यलाई बिदाई गरेका थिए । कार्यक्रमको संचालन निमित्त प्रअ केशवकुमार चुडालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्