दमक , असार ५। झापाको कमल गाउँपालिकामा आइतबारदेखि भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपूर्जा वितरणका लागि जग्गाको नापजाँच शुरु गरिएको छ ।

भूमि आयोगको कार्यालय झापा, नापी कार्यालय दमक र गाउँपालिकाको कार्यालयको समन्वयमा पाँच जनाको टोलीले स्थलगत रुपमा काम शुरु गरेको हो । कमल ५ स्थित सिम्ले, क्याम्पा क्षेत्रमा आइतबार आयोजित संक्षिप्त कार्यक्रमकाबीच आयोगका अध्यक्ष तिलकसिंह पाण्डेले सो क्षेत्रको १ सय ५० विगाह जग्गा नापजाँचको निवेदन उपर अन्तिम सुनुवाई गरेर जग्गा धनीपूर्जा वितरणको प्रकृया अघि बढाइएको जानकारी दिए ।

उनले आयोगले गर्ने काम कारवाहीमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह पनि गरेका छन् । जग्गा नापजाँच शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले पुस्तौंदेखि जग्गा भोगचलन गरेर पनि स्वामित्व पाउन नसकेका कमल गाउँपालिकाबासीको समग्र भूमिसम्बन्धी समस्या अब विस्तारै हल हुने विश्वास व्यक्त गरे ।सो क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आयोगले काम कारवाही अघि बढाएकोप्रति धन्यवाद दिदैं अध्यक्ष राईले यो प्रकृयामा सहयोगी भूमिका निर्वाह गरिदिन सबै जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी संयन्त्र र आमसर्वसाधारणलाई अपिल समेत गरेका छन् । कमल ५ को उत्तरी क्षेत्रमा अवस्थित क्याम्पा,सिम्ले क्षेत्रमा हालसम्म पनि जग्गा नाप हुन सकेको थिएन । जग्गा नापजाँच नहुँदा स्थानीयले भूमि समस्या भोग्दै आएका छन् ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी, वडाध्यक्ष लालबहादुर विष्ट, कार्यपालिका सदस्य चन्द्रकला सुब्बा, वडा सदस्यहरु चुरुहाड लावती, ओम प्रधान, कांग्रेसका प्रदेशसभा क्षेत्र सदस्य राजकुमार न्यौपाने, वडा सभापति चन्द्रसिंह राई ,आइतहाङ लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्