झापा , असार ७ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ ।

नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ ९१.५९ डलर र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ ९१.५३ डलर पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ)र डिजेल १.१२ डलर (एक सय ४० रुपैयाँ) छ । त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ । केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ । दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँ) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ । त्यस्तै, अफगानिस्तानमा ०.९५५ डलर (एक सय २० रुपैयाँ) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ ।

पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ । संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात् दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ । ग्लोबल पेट्रोल प्राइसडटकमका अनुसार इरानमा डिजेलको मूल्य अहिले प्रतिलिटर दुई रुपैयाँभन्दा कम पर्न आउँछ । पेट्रोलियम सस्तोमा बेच्नेमा भेनेजुएलापछि लिबिया र इरान छन् । लिबियामा पेट्रोल र डिजेल दुवै प्रतिलिटर ०.०३१ डलर (चार रुपैयाँ)छ । त्यस्तै, इरानमा पेट्रोल प्रतिलिटर ०.०५३ डलर (सात रुपैयाँ)र डिजेल प्रतिलिटर ०.०११ डलर (एक रुपैयाँ ३८ पैसा)छ । पेट्रोलियम पदार्थको भाउ सबैभन्दा महँगो हङकङमा छ । त्यहाँ अहिले पेट्रोल प्रतिलिटर २.९९९ डलर (तीन सय ७५ रुपैयाँ) र डिजेल २.७७१ डलर (तीन सय ४७ रुपैयाँ) छ ।

अब ग्यासमा दुईथरी मूल्य तोकिने
नेपाल आयल निगमले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा असारभित्रै छुट्टाछुट्टै मूल्य तोक्ने भएको छ । औद्योगिक प्रयोजनमा परल मूल्यमा जाने र घरायसी प्रयोजनमा सहुलियत दिन सकिने सम्बन्धमा अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वमा टोली गठन भएको निगमका कार्यकारी निर्देशक उमेश थामीले बताए । ‘गुणस्तर विभागबाट प्रतिवेदन आएपछि हामी यही आवभित्र छुट्टाछुट्टै मूल्य निर्धारण गरेर लागू गर्छौँ,’ उनले भने । औद्योगिक र घरायसी प्रयोजनका ग्यास सिलिन्डरको साइज र रङ नै फरक हुने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्