झापा , असार ७ । बुधवारे हटियाका व्यापारीहरुलाई विद्युत महसुलको मिटर दिनुपर्ने मागलाई राजनीतिकरण गरेका नेकपा एमाले र नेपाली कांग्रेसका नेताकार्यकर्ताहरु एकापसमा भिडन्त गर्न सडकमा समेत उत्रिएका छन् ।

दुईतर्फ नारा जुलुश गर्दै

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईसंग सम्बन्धित रहेको व्यवसायीहरुको सो विषयलाई दुवै पार्टीले राजनीतिकरण गर्दै नगरपालिकामै एकापसमा भिड्न खोजेका हुन् । मंगलबार तेस्रो दिन व्यापारी आन्दोलनको अगुवाई गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेसहितको टोली नगरपालिका अगाडि प्रदर्शन गर्न आउँदा एमालेका नेताकार्यकर्ताहरुले प्रतिवाद गर्दै भिड्न खोजेका थिए ।

नगरपालिका अगाडि व्यापारीहरुले ‘व्यापारी एकता जिन्दावाद, विद्युतीय सुलभता उपलब्ध गर, अध्यारोमा बस्न गाह्रो भो ,व्यापारीहरु अनागरिक होइनन् ’जस्ता नारा लगाउँदै नगर प्रमुख प्रसाईविरुद्ध प्रदर्शन गरिरहँदा एमालेका नेताकार्यकर्ताहरुले ‘महिला नेतृत्व स्वीकार गर, महिला हिंसा बन्द गर, गुन्डागर्दी चाहिदैन’ जस्ता नारा लगाएका थिए । आन्दोलनकारी व्यापारीहरुको नेतृत्व गरिरहेका उद्योग बाणिज्य संघका कुमार भट्टराईलगायतले भिड्न चुनौती दिइरहँदा एमाले एमालेका नेताकार्यकर्ताहरु जाइलाग्न खोजेका थिए । तर, ठूलो संख्यामा रहेका सुरक्षाकर्मीहरुले दुवै पक्षलाई भिड्न रोकेका थिए । त्यहाँ तैनाथ जनपद , सशस्त्र र नगर प्रहरीले संभावित भिडन्त हुनबाट जोगाएका थिए । बाक्लो सुरक्षा उपस्थितिका कारण दुवै पक्षबीच झडप हुन नपाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । बिहान ११ बजेदेखि शुरु भएको दुवै पक्षबीचको घम्साघम्सी दिउँसो १ बजेसम्म चलेको थियो ।

व्यापारी आन्दोलनको नेतृत्व वाणिज्य संघका अध्यक्ष शिवाकोटी , वरिष्ठ उपाध्यक्ष न्यौपाने , कुमार भट्टराई , राधिका चुडाल, जीवन खड्कालगायतले गरेका थिए भने त्यसविरुद्धको एमालेको प्रदर्शनमा प्रदेश सांसद एकराज कार्की , पूर्व सांसद हरिचरण शिवाकोटी ,नगर अध्यक्ष सुवास भट्टराई , नगर सचिव शेखर कँडेल , वडा सभापति इन्द्र प्रसाईलगायत सहभागी थिए । एमालेको प्रतिकारमा स्थानीय तहको निर्वाचनमा निर्वाचित एमालेका जनप्रतिनिधिहरु पनि सामेल भएका थिए ।

व्यापारीहरुलाई मिटर दिनुपर्ने माग सम्बोधन गर्न सोमबार नगरपालिकाले सर्वदलीय बैठक बोलाएको थियो । बैठकमा नगर प्रमुख प्रसाईमाथि दुव्र्यवहार र एमाले अध्यक्ष भट्टराईमाथि हातपातको प्रयास भएको एमालेको आरोप छ । सोमबार सर्वदलीय बैठकका क्रममा शुरु भएको राजनीतिक विवाद मंगलबार सडकसम्म आइपुगेको हो । वाणिज्य संघले मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बजार बन्द आव्हान गरेको थियो ।तर , त्यसलाई व्यापारीहरुले अवज्ञा गरेका छन् ।

यसैबीच चेम्बर अफ कमर्शले बजार बन्द कार्यक्रमप्रति आपत्ति जनाउँदै व्यवसायीहरुको जायज मागलाई सर्वपक्षीय भेलाबाट छलफल गरी नियम र कानुनसम्मत संबोधन गर्न नगरपालिकासंग आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्