बिर्तामोड , असार ८ । बिर्तामोड उद्योग वाणिज्य संघले पक्राउ गरिएका आफ्ना अध्यक्षसहित सबैलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गरेको छ ।

संघका महासचिव अर्जुन मैनाली र जनसम्पर्क उपाध्यक्ष नैनकला भट्टराईले एक प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका अध्यक्षसहित सवैलाई बिना शर्त तुरुन्त रिहा गर्न माग गरेका हुन् । व्यवसायीको पक्षमा आफ्ना जायज माग राख्दाराख्दै प्रहरीले वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाईलगायत केही व्यवसायीहरुलाई पक्राउ गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै व्यवसायीले विद्युत मिटर माग्दा त्यसलाई सम्वाद र सहमतिको तर्फबाट निराकरण गर्नुको साटो प्रहरी प्रशासनले धरपकड गरेर निन्दनीय कार्य गरेको जनाइएको छ । उनीहरुले वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान गर्दै बुधबारे हटियाका व्यवसायीलाई विद्युत मिटर उपलब्ध गराएर व्यवसायीका मागलाई सम्बोधन गर्न स्थानीय सरकारलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

वाणिज्य संघ आन्दोलनको पक्षमा नरहे पनि कतैबाट मागको सम्बोधन नभएपछि चरणवद्ध आन्दोलनमा उत्रन बाध्य भएको जनाउँदै पक्राउ परेका सबैलाई तत्काल रिहा नगरे आन्दोलन थप सशक्त बनाउने बुधवार बसेको आकस्मिक बैठकले निर्णय गरेको उनीहरुले चेतावनी दिएका छन् ।
पक्राउ पर्नेमा अध्यक्ष प्रकाश शिवकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाई, व्यवसायीहरु सन्तोष उप्रेती, कल्पना पुरी न्यौपाने, संगिता न्यौपाने, कल्पना खरेल निरौला, नरबहादुर बि.क. एकता कडरिया बिष्ट, तुलसा तामाङ र निरु अधिकारी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्