एजेन्सी । अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

पाक्ति प्रान्तमा हिजो राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटरभन्दा धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्