झापा , असार ९ । धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ७६ वर्षीय विर्खबहादुर पौडेल पक्राउ परेका छन् ।

घटनाका आरोपित वृद्ध पञ्चायतकालमा तत्कालीन चानुवा गाउँपञ्चायतका उपप्रधानपञ्च रहेको बताइएको छ । गत शुक्रबार विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई पौडेलले बाटोमै यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । चार जना बालबालिका विद्यालयबाट घरतर्फ फर्कँदै गर्दा तीनजनालाई पानी लिन पठाएर एक बालिकालाई ती वृद्धले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । घटनाबारे गत सोमबार मात्र बालिकाका अभिभावकलाई थाहा दिएपछि घटना बाहिरिएको थियो । सोमबार नै बालिकाकी आमाले पौडेलविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सोही दिन घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनीविरुद्ध बाल यौन दुरुपयोग मुद्दामा अदालतमा मुद्दा अघि सारिएको उनले बताए । बालिका स्थानीय विद्यालयमा ५ कक्षामा अध्ययनरत छिन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्