झापा, असार १५ । ओरालो लाग्दै गरेको नेकपा माओवादी केन्द्रलाई झापामा आदिवासी कोचहरुले थामिदिएका छन् ।

यस वर्षको स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा सो कुरा पुष्टि भएको छ । नेपाली कांग्रेससंग गठबन्धन गरेर निर्वाचन लडेको माओवादीले झापाभरि जम्मा ७ वटा वडाध्यक्ष पद जितेको छ । त्यसमध्ये जित्ने चारजना कोच राजवंशी समुदायका हुन् । बाँकी तीनजनामध्ये दुईजना जनजाति समुदायका छन् भने एकजना मात्र खस समुदायका । माओवादी पार्टीका तर्फबाट कोच समुदायका भद्रपुर ४ मा हंशधर राजवंशी , हल्दिवारी २ मा शुकलाल राजवंशी , गौरादह ८ मा गणेशकुमार राजवंशी र गौरीगञ्ज २ मा किनालाल राजवंशीले वडाध्यक्ष जितेका हुन् । त्यसबाहेक मेचीनगर १४ मा बाबुलाल सुब्बा , शिवसताक्षी २ मा भीमबहादुर नेम्बाङ र कमल ५ मा लालबहादुर विष्ट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी पार्टीले कोचहरुको मुद्धा छोडेपनि कोचहरुले माओवादी पार्टी छाडेका छैनन् । स्थानीय निर्वाचनसंगै प्रदेशसभाको निर्वाचनमा समेत कोच नेता पूर्णसिंह राजवंशीले जितेर माओवादीको विडो थामिदिएका छन् । २०७४ सालको प्रदेशसभाको निर्वाचनमा माओवादीका तर्फबाट पूर्णसिंह राजवंशी र झलकसिंह दर्लामीले विजय हासिल गरेका थिए । त्यस्तै संघीय निर्वाचनमा राम कार्कीले जितेका थिए । दिनप्रतिदिन खस्किदै गएको माओवादी पार्टीमा नेता मात्र रहेको र कार्यकर्ता नभएको विश्लेषण गर्न थालिएको छ । माओवादी पार्टीलाई झापाको हकमा आफू कोचहरुले नै थामिदिएको प्रदेश सांसद पूर्णसिंह राजवंशीले बताए । माओवादी पार्टीको लागि कोचहरुले दिएको योगदान र बलिदान महत्वपूर्ण रहेको उनले दावी गरे ।

जनयुद्धका क्रममा माओवादी पार्टीका लागि चतुरमान राजवंशी , टेकनारायण राजवंशी , हलाई राजवंशी , शम्भु राजवंशी , विजय राजवंशी र टोपालाल राजवंशी गरी ६ जनाले शहादत प्राप्त गरेका थिए । त्यस्तै राजनीतिक संघर्षका क्रममा दर्जनौ कोचहरुले जेलनेल भोगेका थिए । पार्टीका लागि कोचहरुले बलिदानी दिएपनि ‘तर’ अर्थात अवसर पाउने अरु नै भएको कोच नेताहरुले गुनासो गरेका छन् । अरु पार्टीजस्तै माओवादीले समेत अधिकार र अवसर दिने सवालमा त्यति वास्ता नगरेको प्रदेश सांसद पूर्णसिंहले सुनाए । ‘ पार्टी नेतृत्व अधिकार दिने कुरामा हिच्किचाएको देखिन्छ ’ उनले भने,‘ हामी पनि अधिकार माग्ने कुरामा पछि परेका छौं ।’ कोचहरुलाई पार्टीले नेतृत्वदायी जिम्मेवारी प्रदान गरेको देखिदैन । संविधानसभा र प्रदेशसभाको निर्वाचन जितेका पूर्णसिंहले बल्ल प्रदेश कमिटीको सदस्य पाएका छन् । त्यस्तै जिल्ला कमिटीमा पनि कोचहरुलाई खासै नसमेटेको गुनासो छ ।

कोचहरु पार्टीको मेरुदण्ड भएको जिल्ला समन्वय समितिका संयोजक राजु आचार्यले स्वीकारे । माओवादी जनयुद्धको जगदेखि हालसम्मको राजनीतिक भूमिकामा कोचहरुको योगदान महत्वपूर्ण भएकाले पार्टीले त्यही किसिमले मूल्यांकन गरेको उनको भनाई छ । स्थानीय तहको निर्वाचनमा कोचहरुले साख जोगाइदिएकाले अबको प्रदेश र संघीय निर्वाचनमा पार्टीले कोचहरुको लागि त्यसरी नै सोच्नुपर्ने प्रदेश सांसद पूर्णसिंहको भनाई छ । गत निर्वाचनमा प्रदेश सांसद जितेका उनले यस वर्षको निर्वाचनमा पनि उम्मेदवारी दिने सोच बनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्