सुरुङ्गा, असार १६ । माटो जोगाऔं भन्ने मुल नाराका साथ सचेतना जगाउन मेचीकाली म्याराथुन दौड सुरु गर्दै एक युवक झापा आइपुगेका छन् ।

बुधबार कनकाई आइपुगेका पर्वतका नविन पुन मगरलाई बिहीबार सुरुङ्गास्थित हरिकुल नमुना माविले भव्य स्वागत सम्मान गरेको छ । हरिकुल नमुना माविले समेत यस अभियानमा जोडिएर लामो समयदेखि विभिन्न माटो जोगाऔं कार्यक्रम गर्दै आइरहेको छ ।

काठमाण्डौको टुँडिखेलबाट १७ दिन अघिबाट सचेतना जगाउन म्याराथुन दौड सुरु गरेका मगरले झापामा आफ्नो सचेतना अभियान सुरु गरेका हुन् । बिहीबार हरिकुल नमुना माविमा आयोजित सचेतना कार्यक्रममा बोल्दै अभियन्ता मगरले विश्वमा हरेक सेकेन्ड १२ कठ्ठा जमिन मरुभूमि हुने गरेको भन्दै यहि तरिकाले माटोको अर्गानिकपन हराउँदै जाने हो भने अबको ६० बर्षमा जमिनमा उब्जाउ हुन छाड्ने दावी गरे । माटोको अर्गानिकपन कम्तीमा ३ प्रतिशत हुनुपर्नेमा नेपालमा यो प्रतिशत २ भन्दा कम भइसकेको भन्दै नेपालको माटो समेत डेन्जर जोनमा परिसकेकोले यसलाई नरोक्ने हो भने नेपाल समेत चाँडै मरुभूमिमा परिणत हुने उनको दावी छ ।

अभियानकर्मीलाई स्वागत गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुर्खाले जोगाइदिएको माटोलाई हामीले थप अर्गानिक बनाउनका लागि पहल गर्नुपर्नेमा जोड दिए । अझैपनि गाउँघरमा रासायनिक मल पाइएन भनेर सरकारको आलोचना हुने गरेको भन्दै कनकाई नगरपालिकाले अर्गानिक खेतीलाई प्रोत्साहन गर्नका लागि फोहोरमैला व्यवस्थापन गरी अर्गानिक मल उत्पादन थालिसकेको जानकारी दिए । मगरको माटो जोगाऔं अभियानमा सनम लिम्बू, अजय भण्डारी, निर्मल श्रेष्ठ समेत रहेका छन् ।

विद्यालयका प्रिन्सिपल रोशन केसीले हरिकुल नमुना मावि माटो जोगाउने अभियानमा जोडिसकेको जानकारी दिँदै यस आन्दोलनमा जोडिनका लागि सबैलाई आव्हान समेत गरे । कार्यक्रममा लायन्स क्लव अफ कनकाईका अध्यक्ष साजन थापालगायतको सहभागिता रहेको थियो ।

त्यस्तै मगरको टोलीलाई बिर्तामोडस्थित अतिथि सदनमा लायन्स क्लब अफ बिर्तामोडका विभिन्न विभागहरुले स्वागत सम्मान गरेका छन् । लायन्स क्लब अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले माटो जोगाउने अभियानमा सबै एक हुनुपर्ने बताए । उनले माटो जीवन भएकाले माटो नै नभए मानव अस्तित्व नै नरहने धारणा ब्यक्त गरे ।

मगरको टोलीलाई स्वागत गर्दै कार्कीले मानव जीवन नै संकटमा पर्ने भएकाले माटो जोगाऔं अभियानका अभियन्ताहरुले शुरु गरेको अभियानलाई सबैको साथ रहने धारणा ब्यक्त गरे । लायन्स क्लब अफ बिर्तामोडसहित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागितामा टोलीलाई स्वागत सम्मान गरिएको हो । माटो नजोगाउने हो भने अबको ६० वर्षसम्म बाली उत्पादन नहुने र खानेकै लागि युद्ध हुने सम्भावना रहेकाले त्यसलाई रोक्न सबै लाग्नुपर्ने सामाजिक क्षेत्रमा सक्रिय रहेका लीला चिमरियाले बताए । उनले भने– ‘माटो जोगाऔं अभियानलाई सम्पूर्ण झापाको साथ रहने छ । हामीले यो अभियान सफल बनाउन आजैबाट लाग्नुपर्छ ।’ झापामा धेरै हौसला र माया पाएको भन्दै मगरले यो अभियानलाई सार्थक बनाउन सबै एक जुट हुनुपर्ने विचार ब्यक्त गरे । उनले दौडको माध्यमबाट समाजमा जागरण ल्याउने उद्धेश्यले काठमाण्डौबाट अभियान शुरु गरिएको जानकारी दिए ।

दिनानुदिन जनसंख्या बढ्दै गएपनि माटोको उर्वराशक्ति ह्रास हुँदा समस्या पैदा हँुदै गएको टोलीमा सहभागी सनम लिम्बूले बताए । माटो जोगाउनका लागि दौड भन्ने नाराका साथ सातवटै प्रदेश गरी ३ हजार ५ सय किलोमिटर दौड पूरा गर्ने क्रममा मगरको टोली बिर्तामोड आइपुगेको हो । टोलीले अभियानअन्तर्गत प्रधानमन्त्री र राष्ट्रपतिलाई माटो जोगाउने अभियानमा खबरदारी गर्न समेत सबैलाई आग्रह गरेको छ । मगर बिहीवारै बिर्तामोड हुँदै इलामतर्फ लागेका छन् । उनले ७५ दिनमा ३ हजार ५ सयमिटरको म्याराथुन दौड पुरा गर्दै देशका ७७ जिल्लामै माटो जोगाउनका लागि सचेतना अभियान पुरा गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्