झापा , असार १७ । रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ‘वुमेन्स ओपन गल्फ’ प्रतियोगिता शनिबार हुने भएको छ ।

महिला खेलाडीले मात्रै प्रतिस्पर्धा गर्ने गरी देशमै पहिलोपल्ट गल्फ प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता र समुदायको माध्यमबाट महिला गल्फरलाई सशक्तीकरण गर्नका लागि गरिने एकदिने प्रतियोगिता स्टेबलफोर्ड ३/४ ह्यान्डीक्यापका आधारमा खेलाइने छ । ८ देखि १६ वर्ष उमेरकाले ९ होलमा हुने जुनियरको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् भने सिनियरले १८ होल खेल्नेछन् । एमेच्योर गल्फर प्रतिमा शेर्पासहित आश्रिया बानु र सरिताश्री ज्ञवालीद्वारा आयोजित प्रतियोगितामा ५० सोसल गल्फर सहभागी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने प्रतियोगितामा विभिन्न स्पर्धाका विजेताहरूले स्कुटर, टर्की आवतजावतको हवाई टिकट, गिफ्ट भौचरसहित थुप्रै पुरस्कार प्राप्त गर्नेछन् । ‘फोर्ब्स ३० अन्डर ३० एसिया’ मा पनि परेकी नम्बर एक नेपाली महिला गल्फर शेर्पाले भनिन् , ‘यस्ता प्रतियोगिता नेपाली महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगितामा सहभागी हुन र प्रतिस्पर्धा गर्न उत्साहित पार्दछ ।’ महिला कप्तान बानुले आकर्षक गल्फ कोर्स र मौसमका कारण यस्ता प्रतियोगिताले खेल पर्यटनमा पनि टेवा पुर्‍याउने बताइन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्