बिर्तामोड , असार १८ । बिर्तामोडको फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा पाएको निराकर सरसफाई सेवा प्रालिले कामबाट निकालेपछि २० जना सरसफाई कर्मचारीको रोजीरोटी गुमेको छ ।

विगत लामो समयदेखि बिर्तामोड नगरपालिकाको फोहोरमैला उठाउने काम गरिरहेका अजय मल्लिक डुम,शत्रुधन डुम, दिलिप डुम , इन्द्र डुम, सुरेन्द्र डुम , प्रकाश डुम , विमल डुमलगायतको रोजीरोटी गुमेको हो । आफूहरुलाई पालैपालो खाईपाई आएको कामबाट निकालिएको दिलिप डुमले बताए । अहिले फोहोर उठाउने काममा मल्लिक जातिको कसैलाई पनि नराखेको उनले गुनासो गरे । आफूहरुको ठाउँमा दुर्गापुर , खुदुनाबारीलगायतका ठाउँबाट झिकाएर कर्मचारी राखेको उनले बताए ।

अनारमनी गाविस हुँदादेखि नै फोहोरमैलाको काम गर्दै आएका विरेन्द्र मल्लिक पनि कामबाट निकालिएका छन् । छँदाखाँदाको कामबाट निकालिएपछि मल्लिक जातिका सरसफाई कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले जतिसक्दो खोसिएको रोजीरोटी पुनः फिर्ता गरियोस् भन्दै काम गर्ने अवसर प्रदान गरिदिन आग्रह गरेका छन् ।

उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘प्रस्तुत विषयमा हामी निवेदक विगत लामो समयदेखि विर्तामोड नगरपालिकाको फोहोरमैला उठाउने काम गरिरहेका थियौं । हामीले काम गरिरहँदा काम गरेबापत पाएको पारिश्रमिकले हाम्रो परिवारलाई पाल्न केही मात्रामा राहत भईनै रहेको थियो तर, बिर्तामोड नगरपालिकाबाट फोहोरमैला व्यवस्थापन गर्न निराकर सरसफाई सेवा प्रा. लि. लाई दिएपश्चात् यस कम्पनीले हामीलाई विभिन्न बहाना बनाई तथा आरोप लगाई निष्काशन गरेकोले हामी मर्माहित भएका छौ । नगरपालिकाबाट नियुक्ती भएका कर्मचारीलाई एउटा कम्पनीले निष्काशन गर्नु कतिसम्मको दादागिरी हो र हामीलाई निष्काशन किन गरियो, हामीले कम्पनीलाई पटकपटक आग्रह गर्दा वास्ता नगरी हामी बिर्तामोडवासीलाई कामबाट हटाई अन्य ठाउँबाट कर्मचारी ल्याउँदा हामी आक्रोशित भएका छौं । हाम्रो परिवारलाई पाल्ने माध्यममा किन यस कम्पनीले बन्द गरायो । यस कम्पनीले गरेको काममा धेरै मात्रामा लापरवाही, दादागिरी कहिलेसम्म हामी सहनु, हामीले काम गरिरहँदा फोहोरमैला उठाउने सिलसिलामा अत्यन्तै लापरवाही अवगत गराउन चाहन्छौं । अन्त्यमा प्रमुखज्यू हाम्रो बिर्तामोडमा काम गर्ने हामी बिर्तामोडवासीले पाउनुपर्छ । त्यसकारण जतिसक्दो हाम्रो खोसिएको रोजीरोटी पुनः फिर्ता गरियोस् भन्दै काम गर्ने अवसर प्रदान गरिदिनुहुन सादर अनुरोध गर्दछौ ।’

बिर्तामोड नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी निराकर कम्पनीलाई दिँदा काम गर्दै आएका सरसफाई कर्मचारीलाई यथावत राख्ने संझौता भएको थियो । रोजीरोटी गुमाएका ती सरसफाई कर्मचारीहरुले आइतबार नगरपालिका कार्यालयमा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्