झापा, असार १९ । झापाको अर्जुनधारा नगरपालिका– ४ स्थित जुकेखाडी–साहसी टोल भित्री कच्ची सडकखण्डको ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको पुरुषको शव भारतीय नागरिक ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइको रहेको खुलेको छ ।

पक्राउ पनेहरु

भारत गुजरात राज्य अहमदाबाद, कुवेरनगर निवासी जपडिया नरेशलाई फलामको मार्तोलले हिर्काएर हत्या गरेको आरोपमा झापा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न एक जना फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।
पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका– ७ स्थित डाँडागाउँ निवासी ३२ वर्षीया जानुकादेवी थापा, सोही ठाउँका ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १० निवासी २५ वर्षीय सुरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए । जानुका र बृख नातामा श्रीमान्–श्रीमती हुन् । आरोपी तीनै जनालाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

जपडिया नरेशको हत्या योजनाबद्ध तरिकाले गरिएको बताउँदै एसपी पोखरेलले भने, ‘पाँच लाखको सुपारी लिएर बराहक्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको अनुसन्धानले देखाएको छ ।’ जानुकाले सुपारी लिएका परियारलाई हत्या गर्नुअघि २५ हजार दिएको र पछि फेरि १ लाख ७५ हजार गरी दुई लाख दिएका थिए । त्यस्तै अर्का व्यक्तिलाई एक लाख दिएको र बाँकी रकम दुई लाख रुपैयाँ तिर्न बाँकी देखिएको एसपी पोखरेलले बताए । प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोबाइल र २ वटा खाली बोतल फेला पारेको थियो । उनीहरुविरुद्ध झापा जिल्ला अदालत भद्रपुरबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको पोखरेलले बताए ।

गुजरात घर भएका मृतक जपडिया नरेशसँग जानुका थापाको चिनजान भारतमै भएको थियो । २०७६ साल मङ्सिर महिनातिर जानुका कामको सिलसिलामा भारतको दिल्ली गएकी थिइन् । त्यसपछि उनी गुजरात भन्ने सहरमा गई त्यहाँ डेढ महिना बस्ने क्रममा मृतक जपडिया नरेशसँग भेटघाट तथा चिनजान भएको थियो । चिनजान यतिसम्म गहिरो भयो कि जानुका २०७६ सालको फाल्गुण अन्तिम सातातिर नेपाल फर्किदा जपडिया नरेश पनि सँगै आए ।
जानुकालाई छाडन नरेश भारतको पानीट्याङकी नाकासम्म आएका थिए । २०७६ साल चैतमा नरेशले जानुकाकी छोराछोरीहरूका लागि खेलौना तथा लत्ताकपडाहरू भारतीय गाडीमा नेपाल पठाएका थिए । मृतक नरेश पटक–पटक मोरङको विराटनगर आउने गरेको भन्ने जानुकाले प्रहरीलाई बयान दिएकी छिन् । नरेशले जानुकालाई घर निर्माणको लागि ५ लाख रुपैयाँ पनि दिएको अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए ।

मृतक र बोराभित्रको शव

मोरङको विराटनगर नाकाबाट नेपाल आएका नरेशलाई २०७९ सालको बैशाख ४ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध भारतीय रुपैयाँ ५९ हजारसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका उनी आन्तरिक राजश्व कार्यालयबाट धरौटी रकम बुझाएर तारेखमा छुटेका थिए । २०७९ साल जेठमा नरेश सोही मुद्दाको तारिखको लागि जानुकाको घर आएर तीन बसेका थिए । त्यहाँ बस्ने क्रममा नरेशले जानुकाका श्रीमानको अगाडि दुव्र्यवहार गरेका थिए ।
नरेशले दुव्र्यवहार गरेपछि जानुका र उनका श्रीमान् बृखले नरेशको हत्या गर्ने योजना बनाउन सुरु गरेको एसपी पोखरेलले बताए । त्यसपछि फेरि नरेश २०७९ असार ७ गते जानुकाको घरमा आएर बसे । त्यही मौका छोपी हत्याको सुपारी लिएका परियारलाई जानुकाले असार ८ गते घरमा बोलाए । अर्को व्यक्ति असार ९ गते जानुकाको घर पुगे । आफ्नो हत्या गर्ने योजना भइरहेको छ भनेर नरेशले सुइँको समेत पाएनन् । असार ९ गते बिहान मुद्दाको तारिखका लागि नरेश इटहरीतर्फ लागे । सोही दिन दिउँसो २ः३० बजे पुनः नरेश जानुकाको घर फर्किएर आए ।

हत्याको योजना मुताबिक साँझ परेपश्चात् मृतक नरेश, सुरेश परियार र अर्का एक जनासँगै बसेर मादक पदार्थ सेवन गर्न सुरु गरे । राति साढे १० बजेको समयमा भुइतलाको उत्तर तर्फको कोठाको ढोकामा उभिरहेका नरेशमाथि परियारले पछाडिबाट घाँटीमा मुड्कीले प्रहार गरे ।
नरेश भुईँमा लडेपछि परियारले मृतकको मुख थुनिदिई अर्का व्यक्तिले कोठामा रहेको फलामको मार्तोलले निधारलगायत शरीरको विभिन्न भागमा प्रहार गरे । फलामको मार्तोलको प्रहारले उनको घटनास्थलमै मृत्यु भइसकेको एसपी पोखरेलले बताए । ‘त्यसपछि उनीहरूले नरेशको शवलाई लुकाउन र घटनालाई ढाकछोप गर्ने योजना बनाउन सुरु गरे,’ एसपी पोखरेलले भने, ‘शवलाई बोराभित्र प्याक गरी बृखले चलाउने प्रदेश १–०१–०१२ प ८१५० नम्बरको रातो रङ्गको एफजेट मोटरसाइकलमा हालेर परियार र अर्को व्यक्तिले लगे, उनीहरूले शव हालेको बोरा ह्युम पाइपभित्र फालेर हिँडे ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्