झापा , असार २० । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको ओन्टारियो क्लबविरुद्धको अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको टी-२० खेलमा नेपालले ओन्टारियोलाई ५५ रनले हरायो । यसअघि शुक्रबार भएको एकदिवसीय खेलमा पनि नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । नेपालले दिएको २ सय १० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो १९.३ ओभरमा सवै विकेटको क्षतिमा १ सय ५४ रनमा समेटिएको थियो । ओन्टारियोका लागि भरुण सेहदेबले सर्वाधिक ५० रन बनाए । नरेश बुढाऐरले ४१ र जाडे पाडेमोरले ३७ रन बनाए । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी, आदील अन्सारी र किशोर महतोले एक एक विकेट झारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २ सय ९ रन बनाएका थिए । नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । रोहितले अविजित ७१ र दीपेन्द्रले ५४ रन बनाए । पवन सर्राफले ३७, देव खनालले २० आदील अन्सारीले अविजित २० रन बनाए । बलिङमा ओन्टारियोका रेमण्ड, भरुण सेहदेव र किनान टिन्टोले एक एक विकेट लिए । नेपालले क्यानडाको राष्ट्रिय टोलीविरुद्धको सिरिज अघि ओन्टारियोसँग अभ्यास खेल खेलेको हो । नेपाली टोली अहिले आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको हो । नेपालले क्यानडासँग मंगलबार र बुधबार दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ । क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाटस्कटल्यान्ड जानेछन् । स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछन् । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । लिग-२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्