झापा ,असार २० । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले आवश्यकताको आधारमा बजेट विनियोजन गरिएको बताएका छन् ।

‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक जनप्रतिनिधिसंगको साक्षात्कार कार्यक्रममा बोल्दै नगर प्रमुख पोखरेलले एउटा वडाबाट एक अर्बसम्मको बजेटको माग भई आएको बताउँदै भएका बजेटलाई कसरी राम्रो र प्रभावकारी बनाउन सकिन्छ भनेर बजेट विनियोजन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षको लागि कनकाई नगरपालिकाले ७३ करोडको बजेट ल्याएको छ । ‘जसको सवाल उसकै नेतृत्व हुनुपर्छ’ रिपोर्टर्स क्लब नेपाल मेची शाखाले आज विहान आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ,‘ समाजमा सिक्दैछौं ,नराम्रोलाई छोड्दै राम्रो कामको थालनी गर्छौ ।’

उनले नगरपालिकाको खर्चलाई पारदर्शी बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक साता सार्वजनिक सुनुवाई गरिने जानकारी दिए । त्यस्तै जवाफदेही र उत्तरदायी बन्नका लागि जनतासंग कार्यक्रम राखिएको समेत जानकारी दिए । उनले फोहोरमैलाको व्यवस्थापन गर्दै ग्यास पाइपलाइनमार्फत इन्धन आपूर्ति गर्ने योजनालाई गौरवको रुपमा लिइएको बताए ।

नगर प्रमुख पोखरेलले नगरका प्रत्येक वडाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर नगरको पहिचानको रुपमा स्थापित गर्ने बताए । उनले आर्थिक वर्ष २०७९÷०८० को बजेटमा समग्र नगरका विविध विषयलाई समेटेको बताए ।
‘उत्पादन क्षेत्रलाई चारैतिरबाट जोड्ने प्रयास गरेका छौँ’ नगर प्रमुख पोखरेलले भने, ‘अर्गानिक तरकारी उत्पादनका लागि बजेट नै छुट्याएका छौँ ।’

उनले नगरमा हुने विपद न्यूनीकरण, कृषि बजारका रुपमा टहरा, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, युवा स्वरोजगार कार्यक्रम, बालमैत्री नगर, नगर अस्पताल, शिक्षालगायत सबै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।
त्यस्तै, नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले नगरका सबै राजनीतिक दल र संघ÷संस्थाका प्रतिनिधिहरुको सल्लाह, सुझाव तथा उपस्थितिमा नगरको नीति, कार्यक्रम तथा बजेट ल्याएको बताइन् ।

कार्यक्रममा नगरका वडा नम्बर १ वडा अध्यक्ष सुशीलकुमार पोखरेल, २ का वडा अध्यक्ष बलराम राई, ३ का वडा अध्यक्ष युवराज चम्लागाईं, वडा नम्बर ७ की वडा सदस्य अरुणा सुब्बा, जिल्ला समन्वय समिति सदस्य सन्तोष सुरेनलगायतले आआफ्नो भनाइ राखेका थिए ।
क्लबका अध्यक्ष शेखर सेडाईंले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमलाई क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्