बिर्तामोड , असार २० । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा कोल्ड स्टोर र कृषि संकलन केन्द्र निर्माणका लागि योजना अगाडि बढाउने बताएकी छन् ।

सोमबार वडा नम्बर २ को श्रीहरि सामुदायिक भवनमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले कृषकका उत्पादनहरु कुहिएर जान नदिनका लागि ३ वटा कोल्ड स्टोर र आफ्नै उत्पादनको कृषि संकलन केन्द्र निर्माणका लागि प्राथमिकताका साथ योजना अगाडी बढाउने बताएकी हुन् । विचौलियाका कारण कृषकहरुले उत्पादन गरेका वस्तुहरु बेचविखन गर्न नसक्नु कृषकका लागि ठुलो असर रहेको भन्दै उनले बजार व्यवस्थापनका लागि समेत नगरपालिकाले पहल गर्ने आश्वासन दिइन् ।

सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख प्रसाईले सीमित बजेटका कारण सबै विकास निर्माणका कार्य एकै पटकमा गर्न नसकिने बताइन् । उनले आवश्यक बजेट नहुँदा जनताका इच्छा, अपेक्षा अनुसार काम गर्न समस्या हुने गरेको धारणा राखिन् ।

यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा सेवाग्राहीले सरल र सुलभ तरिकाले सेवा पाउने आश्वासन दिए । सहभागीहरुले राखेको जिज्ञासा उत्तर दिँदै उपप्रमुख संग्रौलाले नगरका सबै वडाहरुमा बजेट समानुपातिक तरिकाले वितरण गरेको बताए । वडाहरुमा नगरको योजनाहरु समेत रहेको भन्दै उनले ठुलो विकासको योजनाका लागि प्रदेश र केन्द्र सरकारसंग माग गर्ने बताए ।

सहभागीहरुको जिज्ञासाको नगरप्रमुख प्रसाई,उपप्रमुख संग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले जवाफ दिएका थिए । सहभागीहरुले घाग्रा खोलाको पुल,पैनी,डुबान,विपन्न आवास,विद्युत विस्तार,सडक बत्ती,पार्किङ,विकास,बजेट, कृषिलगायतका विषयमा समस्याहरु राखेका थिए । आर्थिक वर्ष २०७८÷०७९को अन्तिम चौमासिकअन्तर्गत बिर्तामोड नगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई झापा युनेस्को संघ नेपालले सहजीकरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्