झापा , असार २२ । झापामा परिवार नियोजन अन्तर्गत स्थायी बन्ध्याकरण गराउने पुरुषको सङ्ख्या न्यून रहेको छ ।

जिल्लामा स्थायी बन्ध्याकरण गराउने महिलाको तुलनामा पुरुषको सङ्ख्या निकै कम रहेको स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत शशीकुमार भट्टराईले जानकारी दिए । चालु आर्थिक वर्षमा हालसम्म ६९३ जनाले स्थायी बन्ध्याकरण गराएका छन् । जसमध्ये महिलाको सङ्ख्या ६८४ (मिनिल्याप) र पुरुषको सङ्ख्या ९ (भ्यासेक्टोमी) रहेको छ । धेरै भ्रम रहेकाले पुरुषहरुले बन्ध्याकरण गराउन चाहदैनन् । स्थायी बन्ध्याकरण गराउनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिला छन् । सहरी क्षेत्रमा महिला भन्दा पनि पुरुषले ‘लुकिछिपी’ स्थायी वन्ध्याकरण गराउने गरेको उनको भनाइ छ । यो वर्ष जिल्लाका नौ स्थानमा मोबाइल क्याम्प गरिएको छ । यस्तै, झापामा प्रसूतिपछिको स्थायी बन्ध्याकरणसमेत हुने गरेको छ । यसपछि बच्चा जन्माउन नचाहनेलाई सोही समयमा स्थायी बध्याकरणको सेवासमेत प्रदान गरिँदै आएको अधिकृत भट्टराईले बताए । झापामा आम्दा अस्पताल, लाइफ लाइन, ओम मेची इन्टनेशनल, बीएण्डसी अस्पताल, ओमसाई पाथीभरा लगायतका अस्पतालले प्रसूतिपछिको बन्ध्याकरण सेवा दिँदै आएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । ती अस्पताललाई डेलिभरीपछिको बन्ध्याकरण सेवा उपलब्ध गराएबापत स्वास्थ्य कार्यालय झापाले तथ्याङ्कको आधारमा रकम पनि दिने गरेको छ । बन्ध्याकरण सेवा लिने सेवाग्राहीलाई जनही रू २५० खाजा खर्च, सामान्य औषधि र भिटामिन दिने गरिएको छ । लाभग्राहीलाई घरबाट ल्याएर सेवा लिएपछि घरमै पुर्याउने व्यवस्था भने कार्यालयले आफैँले गर्ने गरेको छ । चालु आर्थिक वर्षमा झापामा परिवार नियोजन अन्तर्गत आएको रू ३४ लाख हजार ४० मध्ये रू सात लाख फ्रिज भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्