बिर्तामोड , असार २२ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाअन्तर्गतको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

बुधबार नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा बसेको पहिलो नगर अधिवेशनको दोस्रो बैठक असार १० गते पेश भएको नीति,बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव तथा विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको हो ।

बैठकले निर्णयार्थ प्रस्तुत गरिएका आर्थिक वर्ष २०७९÷८०को नीति,बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव,आर्थिक विधेयक,विनियोजन विधेयक,सहकारी विधेयक,स्वास्थ्य विधेयक र कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक पास गरेको हो । उक्त कार्यक्रम तथा विधेयकमाथि वडा नम्बर ६का वडा सदस्य जीवन बाँस्कोटा,वडा नम्बर ५का वडा सदस्य दुर्गा शिवाकोटी र वडा नम्बर १० का वडा सदस्य पृथ्वी बस्नेतले सुझाव राखेका थिए ।

बैठकले बिर्तामोड नगरका १० वटै वडाहरु सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भईसकेको हुँदा बिर्तामोड नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गर्ने निर्णय गरेको छ । यस्तै बिर्तामोड नगरपालिकाअन्तर्गत कार्यरत ३० जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई वार्षिक रुपमा (दशँै तिहारको अवसरमा) प्रोत्साहनस्वरुप एकमुष्ठ १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले न्यायिक समितिको आर्थिक वर्ष २०७८÷०७९को प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा यस अवधिमा न्यायिक समितिमा जम्मा ४७ थान मुद्दा दर्ता भएको र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १५ गरी जम्मा ६२ थान मुद्दाको कार्वाही गरिएको जनाइएको छ । दर्ता भएकामध्ये ४७ थान मुद्दा फछ्र्यौट गरिएको,१५ थान मुद्दा कार्बाहीको प्रकृयामा रहेको र उक्त मुद्दालाई आगामी आर्थिक बर्षमा जिम्मेवारी सारी कार्बाही प्रकृया अघि बढाईने जनाइएको छ । बैठकले नगरको न्यायिक समिति सदस्यमा २ जनालाई मनोनित गरेको छ । मनोनित हुनेहरुमा वडा नम्बर ७ का वडा सदस्य खडानन्द निरौला र वडा नम्बर १ की वडा सदस्य कमला महरा रहेका छन् । बैठकमा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले दोस्रो नगरसभाबाट पारित भएका निर्णयहरुलाई प्रस्तुत गरेका थिए ।

बैठकको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले आगामी ५ वर्षको लागि गुरुयोजना निर्माण गरेर अघि बढ्नु पर्ने बताइन् । बिर्तामोडमा फोहोरमैला व्यवस्थापन,ढल निकास,सार्वजनिक शौचालयको समस्या रहेको भन्दै उनले सम्मुनत विकासको अवधारणा अनुसार विकास गर्दै जानु पर्ने बताइन् । उनले बजेट र नीति तथा कार्यक्रममा तालमेल हुनु पर्नेमा जोड दिइन् । प्रतिनिधिसभा सदस्य खरेलले संघीय सरकारबाट बिर्तामोड नगरपालिका क्षेत्रभित्र परेका बजेटहरुको बारेमा समेत जानकारी गराएकी थिइन् । बैठकमा बोल्दै वडा नम्बर ६का वडाध्यक्ष तथा नेपाली कांग्रेस बिर्तामोड नगर समितिका उपसभापति सूर्यप्रसाद कन्दङवाले करको दायरालाई फराकिलो बनाउन वडा तथा टोल विकास संस्थाहरुलाई जिम्मेवारी दिएर नगरपालिकाले निगरानी गर्नु पर्ने धारणा राखेका थिए ।

बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० रुपैयाँको बजेटसहितको नीति तथा कार्यक्रम असार १० गते प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्