झापा , असार २३ । शिवसताक्षी नगरपालिकाले पर्यटन प्रवर्द्धनमा लगानी गरेअनुसारको राजश्व संकलन गर्न सकेको छैन ।

पर्यटन प्रवर्द्धनका लागि करोडौको लगानी गरेको नगरपालिकाले त्यसबाट राजश्वको रुपमा कुनै पनि रकम संकलन गर्न नसकेको हो ।

नगरपालिका क्षेत्रभित्र दोमुखा, सताक्षीधाम , चिल्लागढ, डुँडामारी सिमसार ,फूलबारी सिमसारजस्ता धार्मिक , पर्यटकीय एवं पौराणिक स्थलहरु छन् । ती क्षेत्रको विकासको लागि नगरपालिकाले संघीय ,प्रदेश र आफ्नो बजेटसमेत लगानी गरिरहँदा त्यसबाट कुनै पनि राजश्व असुली हुन नसकिरहेको नगर प्रमुख मेघाहाङ थोप्राले बताए । उनले आम्दानी हुनुपर्ने स्रोतहरुबाटै राजश्व संकलन नभएपछि नगरपालिकालाई न्यून आयमा संचालन गर्नुपरिरहेको समस्या सुनाए । नगरपालिकाले नगरसभामा आगामी आर्थिक वर्ष २०७९–०८० मा ३ करोड ५४ लाख २० हजार रुपैयाँ आय हुने प्रस्तावित अनुमान गरेको छ ।

नगरपालिकाले आगामी वर्षको बजेटमा दोमुखाको लागि ४ करोड रुपैयाँ छुट्याएको छ । माइधारदेखि दोमुखासम्मको बाटोलाई ब्युटीफिकेसनसहितको सेल्फी रोड बनाउनका लागि ठूलो बजेट विनियोजन गरिएको नगर प्रमुख थोप्राले बताए । त्यस्तै दोमुखामा स्वीमिङ पुल निर्माण भइरहेको उनले जानकारी दिए । त्यस्तै सताक्षीधाममा २० किलोमिटर स्तरीय कालोपत्रे निर्माण भइरहेको उनले बताए । नगरका अन्य पर्यटकीय स्थलहरुको विकासमा पनि नगरपालिकाले ठूलो बजेट छुट्याएको उनको भनाई छ ।नगरपालिकाले लगानी गरिरहेपनि एउटा नाफामूलक संस्थाले दोमुखामा पटके , पार्किङजस्ता करहरु असुल गरिरहेको छ ।

रिपोर्टर्स क्लब नेपालको मेची शाखाले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अमृत राईले न्यून आयमा नगरपालिका संचालन गरिरहनु परेकाले राजश्व स्रोतहरुका बारेमा खोज अनुसन्धान गरेर समाचार लेखिदिन पत्रकारहरुलाई आग्रह गरे । ‘संभावित स्रोतहरुको बारेमा यहाँहरुले कलम चलाइदिनु प¥यो ’उनले भने ।

यसैबीच शिवसताक्षी नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरका सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रमअन्तर्गत ‘स्मार्ट’ विद्यालयको अवधारणा ल्याएर कमजोर विद्यालयलाई मर्ज गरिने नगर प्रमुख थोप्राले बताए । उनले त्यसका लागि ७५ लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

‘अघिल्ला जनप्रतिनिधिले गरेका राम्रो कामलाई निरन्तरता दिएका छौं’ नगर प्रमुख थोप्राले भने ‘किसानका लागि सिंचाइमा प्राथमिकता दिँदै रासायनिक मलको समस्यालाई कम गर्ने र प्रांगारिक मलमा जोड दिनेछौं ।’ उनले प्रत्येक क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने बताउँदै दमकल खरिदका लागि एक करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । उनले युवालाई नयाँ प्रविधि हस्तान्तरण, प्रत्येक वडामा ज्ञानघरको स्थापना, बजारमा सडकबत्ति जडान, सिसि क्यामेरा जडान गर्ने बताए । ‘नगरको विकासमा कायापलट गर्छु भन्दिनँ’ नगर प्रमुख थोप्राले भने ‘नगरका आधारभूत कुरालाई अघि वढाइने छ ।’ नगर प्रमुख थोप्राले रिङरोड, रंगशाला, दोमुखा पर्यटकीय स्थल र सतासीधाम नगरका गौरबका बिषय भएकाले ती क्षेत्रहरुमा पनि विकासका लागि बजेट छुट्याएको बताए ।

नगर उपप्रमुख नरमाया कार्कीले निम्न आय भएका किसानको जीवनस्तर उकास्ने कार्यक्रम ल्याएको, निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने, किसान लक्षित कार्यक्रम ल्याउने, महिलालाई आत्मनिर्भर बनाउने बताइन् ।

रिपोर्टर्स क्लब मेचीका अध्यक्ष शेखर सेडाईंको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थोप्रा, विशिष्ठ अतिथि नगर उपप्रमुख कार्की, अतिथि प्रमुख प्रशासकीय अधिकृत अमृत राई, योजना अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्हाङलगायतले आ–आफ्ना भनाई राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्