झापा , असार २४ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ ।

नगरपालिकाले वडा नं-३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गरिन् । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले बताईन् । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उनले बताईन् । बालविवाह रोक्नका लागि बालिका आफैँ सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उनको भनाइ छ । बालविवाह किन गर्न हुँदैन रु गर्दा कस्ता समस्या हुन सक्छन् र भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताईन् । च्यास्मिटार मा.वि.बाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्