भद्रपुर , असार २५ । झापाको चन्द्रगढीस्थित महेन्द्र पार्कलाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै महेन्द्र शालिक पुनर्स्थापना समितिले भद्रपुर नगरपालिकालाई सयौं हस्ताक्षर बुझाएको छ ।

समितिले हिजो बृहत हस्ताक्षर कार्यक्रम आयोजना गरी सयौंको संख्यामा स्थानीय र जिल्लाबासीको हस्ताक्षर संकलन गरेको आयोजक समितिका कार्यक्रम संयोजक चरण प्रसाईले जानकारी दिएका छन् । हस्ताक्षर संकलन सकिएलगत्तै समितिका पदाधिकारीहरुले भद्रपुर नगरपालिकालाई महेन्द्रको शालिक पुनर्स्थापना र महेन्द्र बाटिकालाई पूर्ववत अवस्थामा फर्काउनका निम्ति हस्ताक्षरसहित निवेदन दिएका थिए । अध्यक्ष गिरिराज पौडेल र समिति सदस्यहरुको उपस्थितिमा नगरप्रमुख र नगर उपप्रमुखको अनुपस्थितिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई निवेदन बुझाइएको जनाइएको छ ।

केही दिनअघि शालिक पुनर्स्थापना समितिले रंगरोकन गर्न खोज्दा प्रहरी प्रशासनले रोक लगाएपछि तनाव भएको थियो। समितिले महेन्द्र पार्कलाई पुरानै अवस्थामा फर्काउनका निम्ति संघर्ष गर्दै आएको छ । पटक पटकको सर्वदलीय बैठकले कुनै सहमति जुटाउन नसकेपछि समितिले गत जेठ २० गते महेन्द्र पार्क सरसफाई कार्यक्रम तय गरेको थियो। तर प्रहरी दमन गरेर नगरपालिकाले त्यसलाई असफल बनाएको सचिव सन्तोष बिमलीले आरोप लगाए ।
यसका साथै, महेन्द्रको शालिक पुनर्स्थापनाको लागि बनाइएको समितिले काम गर्न नसकेको भन्दै समिति भंग भएको छ ।

यसैबीच गत असार २० गते झापाली युवाहरुको भेलाले महेन्द्रको शालिक पुनर्स्थापनाको लागि नयाँ समिति गठन गरेको छ। समितिको अध्यक्षमा गिरिराज पौडेल, उपाध्यक्षमा सोना गेलाल, सचिवमा सन्तोष बिमली, कार्यक्रम संयोजकमा चरण प्रसाई, आर्थिक संयोजकमा ज्ञानेन्द्र तिवारी, सदस्यहरुमा अभिषेक खतिवडा, बिमल रणपहेली, शिव गौतम, सञ्जीव मैनाली, गोविन्द बुढाथोकी रहेका छन्।
समितिले निवेदन बुझाएकाले केही दिन नगरपालिकाको निर्णय पर्खिने र त्यसपछि थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। समितिले जस्तोसुकै परिस्थिति आएपनि शालिक पुनस्र्थापना गरेरै छोड्ने दावी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्