बिर्तामोड , असार २७ । महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीको पूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन आफ्ना गुरुहरुलाई गुरू दक्षिणास्वरुप सामूहिक अभिनन्दन गर्ने भएको छ ।

समाजले दुईजना पूर्व शिक्षिका र ९ जना पूर्व शिक्षकलाई अभिनन्दन गर्न लागेको हो । शिक्षाको दीप प्रज्वलित गरी आफू बलेर अरुलाई उज्यालो प्रदान गर्ने विद्यालय स्तरका गुरुहरु जन्म दिने आमापछिको दोस्रो ईश्वर सरह भएको भन्दै पूर्व विद्यार्थीहरुले गुरुहरुलाई गुरु दक्षिणास्वरुप अरु केही दिन नसके पनि भावनाले अभिनन्दन कार्यक्रमको आयोजना गरेको समाजले जनाएको छ । समाजका अनुसार पहिलो पटक भएकाले ७० बर्ष वा सो माथि उमेर भएका ११ जना गुरुहरुलाई अभिनन्दनपत्र, मायाको चिनो, दैनिक जीवनमा प्रयोग हुने बस्तुहरु उपहारमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अभिनन्दन हुन लागेका पूर्व शिक्षकहरुमा ब्रजनन्दन झा , निरा प्रधान , मुकुन्द पौडेल , रामप्रसाद पौडेल , श्रीप्रसाद तिम्सिना , चन्द्रकुमार भट्टराई , विष्णुकुमार भट्टराई , तेजप्रसाद प्रसाई , देवेन्द्र गौतम,लिला निरौला र सुकदेव चौधरी रहेका छन् । आज बिहान विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले असार २९ गते बुधबारका दिन भानु जयन्ती , गुरु पूर्णिमा अर्थात व्यास जयन्ती पर्न गएको र सोही दिन आफूहरु पूर्व विद्यार्थीहरुले आफ्ना गुरुहरुलाई अभिनन्दन गर्न लागेको बताए । गुरुबिना ज्ञान प्राप्त गर्न कठिन छ भन्दै उनले आज हामी पढेर बिद्वान बनेका हौंला । आआफ्ना क्षेत्रमा अब्बल बनेका हौंला । पद, पैसा र प्रतिष्ठाले अलङकारित हौंला । तर यी सबका लागि आधारशिला बनाईदिने काम विद्यालयकै गुरुहरुले गरेको हेक्का राख्दै गुरुहरुप्रति सम्मान जनाउन लागेको जानकारी दिए । ‘घरको चर उठाउन बहुत कठिन हुन्छ । तुलनात्मक हिसाबमा तला थप्न सजिलो हुन्छ । किनकि आकृति त चरले तय गर्ने हो’ उनले भने ,‘ ठिक त्यसैगरी विद्यालयका गुरुहरुले हात समाएर हामी कोरा बालबालिकाको मनमस्तिष्कमा बडो तपस्या गरेर शिक्षाको जग बसाई दिनुभएको हुन्छ । हामी आफ्नो बाल्यकालको स्मरण गरौं । हामीलाई क ख ग लेखपढ गर्न सिकाउन गुरुहरुले कति मेहनत गर्नु परेको थियो । पढ्नभन्दा खेल्न रमाउने हाम्रो मनलाई पढाईमा लगाउन सक्नु चानचुने काम होईन।’

एसएलसीको पहिलो व्याचदेखि पछिल्लो व्याचका पूर्व विद्यार्थीहरुको सहभागितामा यस अभिनन्दन कार्यक्रम हुन गईरहेको जनाइएको छ । करीब एकलाख पचास हजार रुपैयाँको अनुमानित बजेट तर्जुमा गरी पूर्व विद्यार्थीहरुको स्वेच्छिक सहयोगले यो कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
वि.सं. २०१४ सालमा श्री महेन्द्र रत्न मल्टीपर्पज मिडिल स्कूलको नामले स्थापना भएको यस विद्यालयको पहिलो प्रधानाध्यापक किशोर प्रसाई थिए । लालबहादुर घिमिरे , खड्गप्रसाद मैनाली र हस्तमान प्रधानले पनि बिभिन्न समयमा प्रअको भूमिका निर्वाह गरेका थिए । वि.सं. २०२५ सालमा कक्षा ८ को पढाई सुरु गरि यस विद्यालय माध्यमिक विद्यालय बन्ने प्रक्रियामा अघि बढेको थियो । वि.सं.२०२६ सालमा दाताराम शर्मा प्रधानाध्यापकको रुपमा यस विद्यालयमा आएपछि विद्यालयले माध्यमिक तहको स्वीकृति पाएको थियो । माध्यमिक विद्यालय बनाउने काम व्यवस्थापन समितिका सेक्रेटरी पदमबहादुर खड्काले गरेका थिए ।

त्यसपछि यस विद्यालयका विद्यार्थीहरुले २०२७ सालमा एसएलसी परीक्षामा समावेश हुने पहिलो पटक अवसर प्राप्त गरेका थिए । दुई छात्रा र आठ छात्राहरू पहिलोपटक एसएलसीमा समावेश भएका थिए । पहिलो पटक एसएलसी परीक्षामा समावेश भएर कपिलमणी प्रसाईं, उद्धवराज प्रसाईंले उत्तीर्ण गरेका थिए । पहिलो पटक समावेश हुने अन्य विद्यार्थीहरुमा केशव आचार्य, हरि चौधरी, हरि पोखरेल, नारायण तिम्सिना, नारायण श्रेष्ठ, रामप्रसाद पराजुली, सुनिता बिमली र बिशेश्वरा बिमली थिए । ६५ बर्षको यस विद्यालयको ईतिहासमा पहिलो पटक गुरुहरुप्रति सम्मान प्रकट गर्न लागिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्