झापा, असार २८ । विराटनगरमा पेट्रोल बोकेको ट्यांकरको ठक्करबाट सोमबार राति साइकलयात्रीको मृत्यु भएको छ ।

कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका-१४ राधाकृष्ण राईस मिलअगाडि राति सवा ८ बजेतिर दुर्घटना मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ६ ख १८३४ नम्बरको ट्यांकरले ठक्कर दिँदा विराटनगर-१३ का ५५ वर्षीय विजय बानियाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । ट्यांकर र चालक भारत अररियाका २७ वर्षीय जागेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार चालकको साथमा नेपाली सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । साइकलमा सडक पार गर्दै गर्दा बानियालाई ट्यांकरले ठक्कर दिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्