बिर्तामोड , असार ३१ । बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा हिजो बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना र बिर्तामोड नगरपालिकाबीच २०७७ साल फागुन २१ गते भएको संझौता अनुसार उक्त सडकखण्ड निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर स्वीकृत गरेसंगै सडक निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाबाट प्राप्त बिड डकुमेन्ट र ६२ करोड ९१ लाख ३० हजार ७३ रुपैयाँ मूल्य बराबरको कस्ट इस्टिमेट, कार्यालय भौतिक तथा मूल्यसमेतको कन्टीजेन्सीसहित कुल ७६ करोड २७ लाख ५० हजार ६२० रुपैयाँमा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ ।

६ हजार २ सय ५८ मिटर लामो उक्त सडकखण्ड अन्तर्राष्ट्रिय स्तरको बन्ने भएको हो । ७ मिटर चौडाई, त्यसको दुवैपट्टि २÷२ मिटरको पक्की नाला र त्यसमाथि पैदलयात्रुको सहजताका लागि पेवर्स ओच्छ्याइने इन्जिनियर डिल्ली गौतमले जानकारी दिए ।

यस सडकखण्डमा ६२९ वडा सडक बत्ती राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् । सडकको ठेक्का संझौता भएको मितिले २ वर्ष भित्रमा काम सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्