झापा , असार ३१ । प्रतिनिधिसभाको उपसभामुख छान्न आज मतदान हुँदैछ ।

उपसभामुख छान्नको लागि प्रतिनिधिसभामा दिउँसो ३ बजे मतदान हुन लागेको हो ।सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विद्या भट्टराईले उम्मेदवारी दिएका छन् । संसद्को अङ्क गणित हेर्दा उपसभामुखमा कांग्रेसकी नेतृ भुसालको जित निश्चित जस्तै देखिन्छ । प्रतिनिधिसभामा अहिले २ सय ७१ जना सांसद रहेका छन् ।

उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत अर्थात १ सय ३६ मत आवश्यक पर्छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १ सय ५४ जना सांसद रहेकाले कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुने पक्का जस्तै छ ।
एमालेसँग ९८ जना सांसद रहेका छन् । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधिसभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्