झापा ,असार ३२ । तजबिजका आधारमा पालिकाहरुमा राखिएका ‘नाता’का करार कर्मचारीहरुलाई भटाभट निकाल्न थालिएको छ ।

यसक्रममा दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करार सेवामा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति पाएका १८ जना कर्मचारीको चालू आर्थिक वर्षको भोलिदेखि करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए । करार सम्झौता म्याद थप नगर्नेको सूचीमा इञ्जिनियर अमित ढुङ्गाना, सब– इञ्जिनियर देवीप्रसाद थपलिया, असिस्टेन्ट सब–इञ्जिनियर सन्तोष खतिवडा, कम्प्युटर टेक्निसियन मुन्ना आलम, सहायक कम्प्युटर टेक्निसियन अमरसिंह राजवंशी, हलुका सवारी चालकहरु सोमनाथ बराल, तुलसीप्रसाद यादव, अनवर आलम, कार्यालय सहयोगी चौकीदार राजेशकुमार गणेश, चौकीदार अलबारुल हक, प्रशासन सहायक राधिका पौडेल रहेका छन् ।

त्यस्तै सुपरीवेक्षक (गणक)तर्फ कृष्ण चौधरी, टेकनारायण गणेश, दीपककुमार राजवंशी, वविता अधिकारी, लयवती राजवंशी, रेखा राजवंशी र रजाक मियाँ रहेका छन् । सुपरीवेक्षकहरूको ६ महिने म्याद दुई महिनाअघि सकिएको थियो । उनीहरूको पनि म्याद नथप्ने बैठकले निर्णय गरेको जनाइएको छ । सुपरीवेक्षकबाहेक अन्य ११ जना करार सेवाका कर्मचारीहरू लामो समयदेखि गाउँपालिकामा काम गर्दै आइरहेका थिए । गाउँपालिकाले ती कर्मचारीहरूको बर्षै पिच्छे म्याद थप गर्दै आइरहेको थियो । तर, यसपटकको कार्यपालिकाको बैठकले म्याद थप नगर्ने निर्णय गरेको हो । बिर्तामोड नगरपालिकामा पनि पाँच वर्षको अवधिमा करिब सयजना करारका कर्मचारी नियुक्त भएका छन् । उनीहरुलाई पनि निकाल्नुपर्ने माग उठ्न थालेको छ ।

उता तेह्रथुमको आठराई गाउँपालिकाले आगामी आ.व. २०७९÷०८० मा करारका कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले एकैपटक ८५ जना कर्मचारीको करार सेवा भङ्ग गर्ने गरी सूचना निकालिएको बताए । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ‘८५ जना सेवा करारमा कार्यरत कर्मचारीको दुखद बहिर्गमन भएकाले आफू दुखी छु ।’ गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले सूचना सार्वजनिक गर्दै सेवा करारमा गाउँपालिका मातहतका वडा कार्यालयहरु, स्वास्थ्य चौकीलगायतका कार्यालयहरुका करारमा कार्यरत कर्मचारीलाई भोलिदेखि म्याद थप नगर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्