बिर्तामोड ,साउन ३ । मंगलबार एउटा अराजक समूहले बिर्तामोडको नगर अस्पतालमा तालाबन्दी गरेको छ ।

मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा सयभन्दा बढीको संख्यामा व्यानर र प्लेकार्डसहित नाराजुलुश गर्दै आएको समूहले अराजक शैलीमा नगर अस्पतालमा तालाबन्दी गरेको हो । अस्पतालमा रहेका विरामीहरुलाई बाहिर निकाली स्वास्थ्यकर्मीहरुलाई हप्काई दप्काई होहल्ला गर्दै त्यस समूहले अस्पतालमा तालाबन्दी गरेको अस्पताल प्रशासनले जनाएको छ ।

‘अस्पतालमा १० जना विरामीहरु थिए । हामीले ६ जना विरामीलाई हेरिसकेका थियौं ,चार जना बाँकी नै थिए’अस्पतालका चिकित्सक डा. फरहान सिद्धिकीले भने,‘विरामीहरुलाई बाहिर निकालेर उनीहरुले ताला लगाइदिए ।’ स्वास्थ्यकर्मीहरुलाई उनीहरुले हप्काएको सिद्धिकीले गुनासो गरे । ठोस मागबिना र बिनानेतृत्व आन्दोलनमा उत्रिएको त्यस समूहमा अधिकांश बिएण्डसी हस्पिटलका कर्मचारीहरु रहेका थिए । आधाभन्दा बढी व्यक्ति बिएण्डसी हस्पिटलका कर्मचारी भएको डा. सिद्धिकीले बताए । ‘मदिरा खाएर आएका केही व्यक्तिले अस्पतालमा उदण्ड नै मच्चाए’एक स्वास्थ्यकर्मीले भने । उनीहरुले प्रहरीलाई समेत नटेरी बिर्तामोड ३ मा रहेको त्यस नगर अस्पतालमा दुईवटा ताला लगाएका थिए ।

बिएण्डसी हस्पिटलले साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ । तर, नगर अस्पतालमा बिमा कार्यक्रम चालू नै रहेको छ । निजी अस्पतालहरुले बिमा कार्यक्रम बन्द गरिसकेको अबस्थामा सामुदायिक नगर अस्पतालमा संचालनमा रहेको बिमा कार्यक्रमलाई चल्न नदिने उद्धेश्यले निजी अस्पताल संचालकले तालाबन्दी गर्न लगाएको डा. सिद्धिकीले बताए । प्रदर्शनकारीले सामुदायिक अस्पतालविरुद्ध तीब्र नाराजुलुश गरेको उनले जानकारी दिए । नारा जुलुश गर्दै प्रदर्शनकारीहरु नगर अस्पतालतर्फ अगाडि बढिरहेको जानकारी पाएपछि प्रहरीसंग सहयोग मागिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख राजीव विष्टले बताए । उनले निजी अस्पताल संचालकहरुले नगर अस्पतालमा तालाबन्दी गर्नु उचित नभएको प्रतिक्रिया दिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी र नगर प्रहरी परिचालित हुँदा समेत अटेर गरी उनीहरुले तालाबन्दी गरेका थिए । प्रदर्शनकारीले ताला लगाइसकेपछि पछि प्रहरीले ताला फुटाएको थियो । बिर्ताबजारबाट प्रदर्शन गर्दै बिर्तामोडतर्फ जान लागेका प्रदर्शनकारीहरु फर्केर अस्पतालमा तालाबन्दी गरेको र पछि आफूहरुले ताला फुटाइदिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले बताए । प्रदर्शनकारीहरुले दिउँसो २.४० देखि करिव ३ बजेसम्म अस्पतालमा होहल्ला गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्