झापा , साउन ४ । झापाको गौरीगञ्ज गाउँपालिकाले मृत्यु भएका व्यक्तिलाई समेत सामाजिक सुरक्षा (सासु) भत्ता वितरण गरेको पाइएको छ ।
गाउँपालिकाले मृत्यु भएका २० भन्दा बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण तयार गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा मात्रै गाउँपालिकाले तीन लाखभन्दा बढी भुक्तानी गरेको छ । मृत्यु भएका व्यक्तिका नाममा गाउँपालिकाले भत्ता वितरण गरेसँगै महालेखाले सो रकमलाई बेरुजु लेखेको छ । महालेखाको प्रतिवेदनमा सो रकम गाउँपालिकाले असुल गर्नुपर्ने सुझावसमेत दिएको छ। तर गाउँपालिकाले सो रकम असुल गर्न कुनै चासो देखाएको छैन। बसाइँ सरी अन्यत्रै गएका व्यक्तिलाई समेत पालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ। सो रकमसमेत असुल गर्न महालेखाले पालिकालाई सुझाव दिएको छ। बसाइँ सरी गएका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको देखिएपछि सो रकमलाई समेत महालेखाले बेरुजु भएको जनाएको छ। महालेखाको प्रतिवेदनमा २०७५ साल फागुन २ गते मृत्यु भएकी गौरीगञ्ज गाउँपालिका-३ निवासी विधवा एकल महिला विजलीदेवी महतोसहित ११ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । २०७५ असोज २६ गते मृत्यु भएकी हस्मातसन मियालाई प्रथम चौमासिक बापतको विधवा एकल महिला भत्ता प्रदान गरिएको छ। त्यस्तै २०७५ साल चैत १५ गते मृत्यु भएकी विधवा एकल महिला फगनीदेवी साहका नाममा समेत गाउँपालिकाले भत्ता वितरण गरेको छ। यसैगरी २०७५ साल चैत ११ गते मृत्यु भएका मनकामना श्रेष्ठ, २०७५ असोज २२ गते निधन भएका महरम मियालाई समेत ज्येष्ठ नागरिक भत्ता वितरण गरेको छ । गौरीगञ्ज-३ कै मीरा मल्लिकलाई विधवा एकल महिलाका नामबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। उनको २०७६ साल असोज १२ गते नै निधन भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। यीलगायत मृत्यु भइसकेकालाई गाउँपालिकाले भत्ता वितरण गरेको हो। यता २०७६ असार ३ मा गौरीगञ्ज गाउँपालिका-३ बाट बसाइँ सरी दुहवी नगरपालिका सुनसरी गएकी भद्रमाया विष्टलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गरिएको पााइएको छ। गौरीगञ्ज-३ बाट गौरादह-८ मा बसाइँ सरी जाने गम्भीरमाया दर्जी, गौरीगञ्ज-२ बाट दमक बसाइँ सरी जाने सावित्रादेवी न्यौपानेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। गाउँपालिकाले एमआईएसमा प्रविष्ट नभएको पूणर् अपांग हंसनारायण रायलाई समेत सामााजिक सुरक्षा भत्ता प्रदान गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आफूहरू भर्खर निर्वाचित भएकाले अघिल्लो सरकारले गरेका विषयमा थाहा नभएको बताए। उनले पारदर्शीरूपमा काम नभएको पाए कडाइका साथ अनुगमन गर्ने र त्यस्तो कार्यलाई तत्काल रोक्ने बताए।