झापा, साउन ४ । निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् ।

नयाँ आर्थिक बर्ष सुरु भएसंगै निजी मेडिकल कलेज तथा अस्पतालहरुले सूचना जारी गर्दैै आफूहरुको बाट उपलव्ध हुँदै आएको कार्यक्रम स्थगित गरेको बताएका थिए ।

बुधबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी विराट मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बीमा कार्यक्रम स्थगित हुनुमा दोष सरकारको रहेको बताए ।
‘यहाँहरु सबैलाई थाहा छ, सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बक्तव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ । त्यसपछिको डेढ महिनामा हामीलाई कुनै निर्देशन पनि आएन ।हामी आफैले जानकारी लिन खोज्दा पनि केही भनिएन । त्यसैले हामीले बीमा कार्यक्रम रोकेका हौँ,’ बीएण्डसीका सञ्चालक प्रसाईंले भने । उनले सरकारी अस्पतालले यो कार्यक्रम धान्न नसक्ने भन्दै त्यसको प्रत्यक्ष असर जनतालाई पर्ने बताए ।

नोवेलका सञ्चालक शर्माले आफूहरुलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी गर्दै निजी क्षेत्र जनताप्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाए । ‘आम सर्वसाधारणले वीमा कार्यक्रम हामीले रोकेको हो कि भन्ने बुझाई भएको छ । तर त्यसो होइन राज्यले नै हामीलाई चलाउन नदिने भनेपछि हामीले सूचना जारी गरेका हौँ । यो कुरा स्पष्ट हुन जरुरी छ,’ उनले भने ।

विराटका सञ्चालक डा.कार्कीले पनि राज्यको नीति अनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताए । सञ्चालकहरुले पुरानो बक्यौँता रकमको सोधभर्ना गरेर आग्रह गरेमा आफूले सो सेवालाई पुनः निरन्तरता दिन सकिने बताए ।

बीएण्डसीले आफूहरुको ५४ करोडबढी र नोवेलले ६२ करोडबढी रकम बीमा बोर्डमा रोकिएको समेत दावी गरे । उनीहरुले ठूलो रकम रोकिँदा अन्य सेवामा समेत अप्ठेरो परेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्