पथरी, साउन ६ । उर्लाबारी नगरपालिकाले मोरङको उर्लाबारी –३ मंगलबारेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा काम गरिरहेका नर्सलाई फिर्ता लैजाने निर्णय गरेपछि अस्पतालमा बिरामीको उपचारमा थप समस्या भएको छ ।

नगरपालिकामातहत रहेका ४ जना स्टाफ नर्सलाई उर्लाबारी नगरपालिकाले फिर्ता लैजाने निर्णय गरेको हो । उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागोको नेतृत्वले नगरपालिकाको तर्फबाट सेवाग्राहीको सहजताका लागि ४ जना स्टाफ नर्स मदन भण्डारी अस्पतालका लागि व्यवस्थापन गरेको थियो। चारैजना नर्स फिर्ता लैजाने निर्णय भएपछि अस्पतालको सेवा प्रभावित बन्ने भन्दै सो निणर्यलाई पुनर्विचार गरिदिन अस्पताल व्यवस्थापन समितिले नगरपालिकासमक्ष अनुरोध समेत गरेको छ ।

हाल ट्रमा सेन्टर डाक्टरविहिन भएको छ । प्रदेश–१ सरकार मातहत रहेको अस्पताल एण्ड ट्रमा सेन्टरमा कार्यरत फिजिसियन डाक्टर कुशल बस्तीलाई पनि प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कोशी कोभिड अस्पतालमा हाजिर हुन भनेपछि मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरको सेवा प्रभावित बनेको छ ।

अस्पतालमा दिनहुँ आउने सयौँ विरामीले सास्ती खेप्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार शाह बताउँछन् ।
उनी भन्छन् – ‘अस्पतालमा कार्यरत डाक्टरलाई प्रदेश सरकारले बोलायो। ४ जना स्टाप नर्सलाई पनि नगरपालिकाले फिर्ता लग्यो । अब विरामीलाई सेवा कसरी दिने सकसमा छौँ।’
हाल प्रदेश सरकारले डाक्टर र नगरपालिकाले स्टाफ नर्स फिर्ता बोलाएपछि अस्पतालमा आउने सुगर, प्रेसर, दम, मुटुरोगी र अप्रेसन गर्नु पर्ने विरामीहरुको उपचार नगरी रेफर गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्