बिर्तामोड, साउन ६ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्रादेशिक स्तरको बैंकको रुपमा विस्तार गर्न लागिएकोे संचालकहरुले बताएका छन् ।

बैंकको १७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रममा संचालकहरुले त्यस्तो जानकारी दिएका हुन् । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न ४४ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ भने चालु आर्थिक वर्षमा प्रदेश नं. १ भरि आफ्नो कारोवार सञ्चालन गर्ने उद्धेश्यका साथ आवश्यक न्यूनतम चुक्ता पु‘जी पुरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको हो ।

पुँजीगत हिसाबले प्रादेशिक बैंक जतिको पुँजी पुगिसकेकाले अब छिट्टै यसलाई प्रादेशिक बैंकको रुपमा विकसित गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार कट्टेलले बताए । उनले बिर्तामोडको एउटा कोठाबाट शून्य कारोबारबाट शुरुवात भएको स्मरण गर्दै सो बैंकको अहिले साढे १२ अर्बभन्दा बढी डिपोजिट र साढे १० अर्बभन्दा बढी कर्जा लगानी रहेको जानकारी दिए । स्थानीय स्तरको बैंकको रुपमा स्थापना भएर अहिले अत्याधुनिक बैंकिङ प्रविधिअन्तर्गत डिजिटल बंैकिङ , मोबाइल बैंकिङजस्ता सुविधाहरु उपलब्ध गराइएको जानकारी दिए । ‘एउटा परिवारका सबै सदस्यहरुका लागि चाहिने बाल , बृद्ध र महिला खाता हामीकहाँ संचालनमा रहेको छ ’ उनले भने‘ निक्षेपमा पनि सबैभन्दा धेरै व्याज दिने प्रयास गरेका छौं ।’ समृद्ध बैंक बनाउने दिशातर्फ सबैको साथ र सहयोगले आफूहरु अघि बढेको उनको भनाई थियो ।

कार्यक्रममा बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले आगामी दिनमा समेत बैंकको विकास र विस्तारमा सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरे । अध्यक्ष गोयलको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल ,बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ , सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कम्पनी सचिव श्याम बोहोराले संचालन गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कट्टेलले स्वागतसहित बैंकको गतिविधिबारे प्रकाश पारेका थिए ।

त्यस कार्यक्रमअघि कर्मचारीहरुले बिहान मुक्तिचोकमा प्रभातफेरी निकालेका थिए । एक्सेल डेभलपमेन्ट बैंकले वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १७ बर्ष पुरा गरी शुक्रबारबाट १८ बर्षमा प्रवेश गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । विभिन्न शुभेच्छुक, संघसंस्थाका पदाधिकारी, बैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्