भद्रपुर ,साउन ७ । भद्रपुर नगरपालिकाले एक जना करार कर्मचारीलाई जागिरबाट निकालेको छ ।

भद्रपुर नगरपालिकाको प्रशासनले कार्यपालिका बैठकको निर्णय विपरित भद्रपुर–६ स्थित वडा कार्यालयमा कार्यरत करार कर्मचारी (मासिक ज्यालादारी) रोशन राजवंशीलाई जागिरबाट निकालेको हो। रोशन कार्यालय सहयोगीको रूपमा ६ नं वडा कार्यालयमा काम गर्दै आइरहेका थिए। उनलाई साउन १ गतेदेखि हाजिर नहुने गरी कामबाट निकालिएको छ । रोशनलाई नेकपा (एमाले)का तत्कालीन जनप्रतिनिधिको बहुमतले करारमा नियुक्त गरेको थियो। अहिले वडामा कांग्रेसको बहुमत छ।

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रतिया राजवंशीले वडा समितिको बैठकमा समेत छलफल नगरी एकलौटी ढङ्गमा राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले आफ्नो नाम मात्रै किटान गरी म्याद थप नगर्नु भनी नगरपालिकालाई असार ३१ गते ठाडो पत्राचार गरेको कर्मचारी रोशनले आरोप लगाएका छन्। सोही पत्राचारको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले करार सेवा सम्झौताको म्याद थप नगर्ने भनी साउन १ गते वडा कार्यालयलाई लिखित पत्र पठाएको र सोही दिनदेखि आफूलाई हाजिर गर्न नदिएको उनले बताए।

वडामा सचिवसहित दुई जना कार्यालय सहयोगी र दुई जना सामाजिक परिचालक कार्यरत छन्। सचिवबाहेक चारै जना कर्मचारी करारका हुन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्