बत्तीस तेत्तीस सालताका गाउँघरमा रेडियो सुन्न र देख्नलाई नै दुर्लभको विषय थियो । हुनेखाने, देशपरदेश घुमेका लाहुरे परिवारका एकादुई घरमा छिटफुट मात्रै रेडियो थियो । उबेला मलायाका लाहुरेहरुको कसै–कसैको घरमा मात्रै रेडियो हुन्थ्यो । कोहि–कोहि लाहुरेको घरमा रेडियोभन्दा ठुलो टेपरिकर्डर नै हुन्थ्यो । मेला बजार, विवाह, जाग्राम जस्ता समारोहहरुमा टेपरिकर्डर भिरेर बजाउँदै हिड्नेहरु सारै ठुला गनिन्थे र ठुलै पल्टिन्थे । तरुनी केटीहरु पनि रेडियो भिरेर हिड्ने केटाहरुको पछि लाग्न तँछाड–मछाड गर्थे रे त्यो बेला । हामी स–साना मान्छेलाई त्यस्ता कुराको खासै मतलब थिएन ।

हाम्रो घरमा पनि रेडियो चाहिने र किन्नु पर्ने विषयमा परिवारका सबै सहमत भएका थिए । धरान कोटामा गएर ठुलेलाई रेडियो किनेर ल्याउन बाले आदेश दिनुभयो । अब घरमा रेडियो आउने भयो भनेर हामी भुरा मात्र हैन, छिप्पिएका सबैलाई हर्षबढाइ भयो । चार दिनमै घरमा रेडियो जो आइपुग्यो । तीन बेण्डको जापानी पानासोनिक रेडियो, ठाउँ–ठाउँ सेतो टिलिक्क टल्किने भएको ।
नयाँ बेटारी हालेर दलानको डिलमा राखेर ठुल्दाईले रेडियो बजाउने कार्यक्रम शुरु गर्नुभो । रेडियोको कान देब्रेतिर बटारेपछि रेडियो स्याँ..र…करायो ।बज्ने ट्याम भकैछैन, एकछिन पर्खौ– ठुल्दाईले भनेपछि सबैले मुखामुख गरे । धरानबाट नबिसाइ ल्याउँदा रेडियो गलेछ÷रिसाएछ कि के हो भन्ने हामीलाई भयो। नभन्दै साढे पाँच बज्न लाग्दा रेडियो नेपालले शंङ्खध्वनी शुरु गर्यो । हजुरआमादेखि नातिनातिना सबैजना गुन्द्री पिरा ओछ्याइकन ध्यानपूर्वक बसियो । शंङ्खध्वनीपछि बाल कार्यक्रम शुरु भयो । बासुदेव दाईले प्यारा–प्यारा भाइबैनी हो रेडियो नजिक आओ भनेपछि हजुरआमा अलिकति अघि के सर्नु भएको थियो, सबैजना खितिति हाँसे अर्थात भाइबहिनीलाई नजिक बोलाको हैन भन्दै, हामी भुराले जीउ अलि अघि घिसार्यौ । सबैजना हाँसोका पात्र भइयो ।
हामी केटाकेटी (खुद्रा) को एउटै जिज्ञासा भनेको रेडियोभित्र त्यो सानो ठाउँमा को कसरी बस्छ र यसरी बोल्छ ? हाम्री हजुरआमा भन्नुहुन्थ्यो तिमेरलाई के थाहा ? त्याँभित्र तिमेरुभन्दा धेरै साना मान्छे हुन्छन् हौ, तिनीहरु नै बोल्छन् । हामीलाई त्यो कुरा सुनेर कता कता ग्लानी हुन्थ्यो । हामीभन्दा सानाले रेडियोभित्र बसेर त्यसरी बोल्छन्, गीत गाउँछन् भने हामी त मठ्ठु÷लठुवा रहेछौ जस्तो हुन्थ्यो कोइकोइ बेला ।

साढे ६बजे जिल्ला समाचार, सात बजे केन्द्रिय समाचार, समाचारपछि राष्ट्रिय गीत, यस्तै यस्तै राम्रा कार्यक्रम रहेछन् । रेडियो बज्दै गयो हामी सुन्दै रह्यौ । आठ बजे अंग्रेजीमा समाचार आएपछि भने सबैजनाको मुख ठुस्स भयो, किनभने अंग्रेजी बुझ्ने मान्छे पनि त हुनुपरो । ठुल्दाई भने दश पढेको हुनाले अलि जान्ने, अरु सबै खुद्रा पढाइ गर्दै गरेका, बा पण्डित पण्डितले अंग्रेजी पढ्नै पर्दैन । हजुरआमालाई साँवा अक्षर नै कसैले पढाएनन् रे भन्नुहुन्थ्यो, काला अक्षर भैंसी बराबर । अंग्रेजीको समाचारपछि भने कार्यक्रम एकदमै खास्सा–खास्साका कार्यक्रम बजायो रेडियोले । लोकगीतको कार्यक्रम लोकगीत पनि कस्ता राम्रा भने कुमार बस्नेतका छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले…(भाउजु बुहारीका गाला र कान राता हुने खालका) यो ल्याउने र ऊ ल्याउने थाछैन एउटी स्वास्नी नल्याइ नि भा, छैन…… नारानगोपालको बिछोडको पीडा नसकी खप्न दशैको बेलामा…., आदि आदि । नौ बजेपछि फर्माइस गीत, दश बजे फेरि समाचार, दश बजेपछि अतितका गीतको कार्यक्रम यस्तै गरि रेडियो बज्दै गयो ।

पारीघरमा रेडियो आएछ भन्ने थाहा पाऊन् वरपरका छिमेकीले भनेर होला रेडियोको आवाज बढाउने घटाउने जस्ता उरन्ठेउला खेला ठुल्दाईले गर्दै जानुहुँदो रैछ, हामी बबुरालाई के थाहा । हाम्रा घरमा पनि रेडियो छ भन्ने फुर्ति देखाउनु भको होला ।
नयाँ रेडियो घरमा भित्रिएको दिन बेलुकीको भात पाकेन । आमा, छोरी, बुहारी सबै रेडियोतिरै अलमलमा परे । सबै खुशीले रेडियो वरिपरि बस्दै÷सुन्दै समय गएको पत्तो भएन । जब रातको एघार बज्यो तब रेडियोले श्रीमान गम्भीर नेपाली भनेपछि हामी भोकै प्यासै सुत्यौं ।
भोलिपल्ट अर्थात इच्छाइएको सामान घरमा भित्र्याइएको दोस्रो दिन एकाबिहानै उक्त रेडियो गाउँ पञ्चायतमा पास गर्न जानुपर्ने र त्यसरी पास गर्ने कार्यका लागि घरका को को सदस्य जाने भन्ने विषयमा छलफल शुरु भैसकेको रहेछ । रेडियो पास गर्न बा र ठुल्दाई जाने निधो भयो । नौ बजे नै खाना खाइकन रेडियो पास गर्न जाने सदस्यले दौरासुरुवाल धडे । दुवैजना रेडियो पास गर्न गाउँ पञ्चायततर्फ लागेपछि सुनसान एक प्रकार घरमा सन्नाटा छायो ।

एकैदिनमा रेडियो बजियाले मोहनी लगाएछ हजुरआमाले भन्नुभयो, सबैजना एकप्रकारले थकथकाए । परिवारका अन्य सदस्यसहित हजुरआमा पनि आँगनमा वर र पर घुम्ने गर्नुहुन्छ । घुम्ने लागेको बाख्रो जस्तो । रेडियो सुन्ने चाहना भनेको पनि नशा नै हुँदोरहेछ ।
रेडियो पास गर्ने टोली चारबजे रेडियो पासको धनीपुर्जा लिएर घरमा आएपछि फेरि खुशियाली छायो । बर्षैपिच्छे नयाँ (नविकरण) बनाउनु पर्छ अरे, बाले खर्च बढ्यो भन्दै दलानको डिलमा थ्याच्च बस्नु भयो ।
साढे पाँच बजेपछि मात्रै रेडियो नेपाल बज्न शुरु हुने व्यहोरा थाहा पाएका हामीलाई गाउँको एउटा रेडियोको रिठ्ठाबोटे टुप्लुक्कै आइपुगे । अँ पण्डितबा रेडियो त सँधै बजिरहन्छ नि.. खर्साङ्ग, सिलोङ, अलइन्डिया आदि आदि। उस्ले के के गरेर रेडियो खार्साङ्ग बजाएछ ।खार्साङ्ग रेडियो पनि नेपाली भाषामै बज्दो रहेछ । अबदेखि साढे पाँच बजेसम्म कुर्न नपर्ने छिमेकी ती रेडियोका धामीले बताएपछि हाम्रा खुट्टा भुँइमा हुने कुरै भएन ।

रेडियोलाई धुलोमैलो लाग्ने र बिहावारीमा भिरेर जाँदाको सान अर्कै हुने कुरा त बाँकी नै थियो । नभन्दै बालीमा सिलाएको बालीघरेलाई रेडियोको खोल अर्थात (दौरा) सिलाउन घरमै बोलाउने घरसल्लाह पनि मिल्यो । बालीघरेलाई बोलाउन साँइलोलाई पठाउने टुङ्गो लाग्यो । एकघण्टा टाढाको बाटो भातखाने बेलामा साँइलो खुशी हुँदै उफ्रिदै भोकै कुदो ।यता खोलको कपडा किन्न जाने भयो काँइलो ।
पण्डितको घरमा जापानी पानासोनी रेडियो किनेर ल्याएरे भनेर गाउँ–घरमा पुरै सनसनी हल्ला फैलिसकेको थियो । एकादुई गर्दै रेडियो हेर्ने र सुन्नेहरुको घर–आँगनमा भीड जम्मा भएको थियो । ठुल्दाईले रेडियो सँधै झुण्डाउने ठाउँमा काँटी ठोक्न थाल्नु भयो । मुलढोकाको ठिक्क दाहिने भित्तामा । हामी जस्ता केटाकेटीले नभेट्ने गरी अलि माथि ।
घरमा रेडियो आएको करिव एकमहिना भएको हुँदो हो । हाम्रो घरका सदस्यले रेडियो सुन्ने र आ–आफ्नो कामकाज गर्ने लय पक्डिसकेका थिए । आफूलाई मन पर्ने कार्यक्रम सुन्न तोकिएको काम सकेर रेडियोको छेउमा आएर बेलैमा बस्ने सुन्ने, अर्थात काममा बाधा नपार्ने। रेडियो प्रायः बिहानदेखि रातिसम्म घरको मूलढोकाको दाहिनेपट्टिको फलामको काँटीमा झुण्डिएर अविरल बजिनै रहन्थ्यो ।बेला–बेलामा ठुल्दाई बेटारी फेर्नुहुन्थ्यो ।

तर, हामी स–साना भुराको एउटा जिज्ञासा कसैले मेटाइदिएको थिएन । त्यो के भने– रेडियोभित्र बसेर बोल्ने हजुरआमाले भनेजस्ता स–साना मान्छे कस्ता र कत्रा हुन्छन् ? एकदिन घरमा ठुला मान्छे कोहि पनि नभएको मौका पारेर हामी भुरा सान्ने, चिम्से, मिठ्ठी र म भएर रेडियोभित्रका साना मान्छे हेर्ने निर्णयमा पुग्यौं । रेडियो हामीले नभेट्ने अग्लो ठाउँमा झुण्ड्याइएको थियो । घरका ठुला मान्छे सबै काममा गएका थिए । ठुलो डोको ल्याएर रेडियोको ठिक्क मुनिपट्टि घोप्ट्याएर राख्यौ । डोकोमाथि सान्नेलाई चढाएर रेडियो निकाल्यौ । घरबाट अलिपर बाँसघारीमा लिएर हामी चारैजना गयौं । हँसिया र ढुङ्गाले होसियारीपूर्वक रेडियो फुटायौ र भित्र मान्छे हेर्यौ । तर स–साना भनिएका मान्छे कोही पनि त्यहाँ थिएनन् । हामीले लगभग रेडियो नबज्ने अवस्थामा पुर्याएका थियौ । एउटा खास्टोमा टुक्राटुक्री भेला गरी बेरेर दलानमा रहेको खाटमुनी राखेर सबै चारैजना भाग्यांै ।
साँझ आफ्नै घर आउन धेरै डर लाग्यो । हाम्रो व्यापक खोजतलास भएछ । नभन्दै घरबाट अलिपरको खरबारी डाँडामा बसिरहेका थियौ । हाम्रो बदमासी बुझेर नै घरबाट लिन जानुभएको हुनुपर्छ । रेडियोको विषयमा केहि नथापाए जसरी धेरै फकाएर हामीलाई घरसम्म ल्याउनु भयो । तर, घरमा आइपुग्दा त आँगनमा एक बाल्टी पानीमा सिस्नोको स्याउलाको मुठोसहित ठिक पारेर राखिएको रहेछ । हामी चारैजनालाई छेपारीमा घुमाइ–घुमाई त्यहि सिस्नोपानीले बा र ठुल्दाईले ठिक पार्नुभो । हजुरआमाले धन्न थप सिस्नोपानीको कुटाइबाट जोगाउनु भयो । पाँच दिनसम्म सिस्नोको फोका उस्तै थियो । विस्तारै फोकाहरु सुक्दै गए रेडियोमा बोल्ने मान्छेहरु हामीजस्तै हुँदारहेछन् भन्ने बुझ्दै जान थालियो । धन्यवाद ।

भद्रपुर–१०, केन्द्रमोड ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्