झापा , साउन ७ । १ नं. प्रदेशमा किराँतहरुको मात्र पहिचान कायम गराउन नेपाल आदिवासी जनजाति महासंघले आव्हान गरेको आन्दोलनमा अरु जातिहरु सहभागी नहुने भएका छन् ।

महासंघको संघीय परिषद सचिवालयले विज्ञप्ति जारी गरी आइतबार बिहान ११ बजेदेखि प्रदेश नं. १ को राजधानी विराटनगरमा प्रदेशसभा भवन घेराउ कार्यक्रममा सहभागी हुन सम्पूर्ण जातीय संस्थाहरुलाई उर्दी जारी गरेको थियो । अध्यक्ष गेल्जे लामा सेर्पा र दिवस राईले संयुक्त विज्ञप्ति जारी गरी नेपाल आदिवासी जनजाति महासंघ जहिले पनि पहिचानलाई स्थापित गर्ने आन्दोलनको नेतृत्वदायी संगठन भएको भन्दै महासंघले प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्न यसअघि नै विज्ञप्तिमार्फत त्यहाँका राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराईसकेकोले आन्दोलनलाई निर्णायक रुपमा लैजान सबै पहिचान चाहने राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजलाई आह्वान गरेका छन् ।

पहिचान खोज्ने नाममा जनजाति महासंघले एउटा जाति बिशेषको मात्र पहिचान खोजेकाले आफूहरु आन्दोलनमा सहभागी नहुने थारु कल्याणकारिणी सभा झापाका अध्यक्ष पुष्पलाल चौधरीले बताए । प्रदेश न.ं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र जनजाति महासंघका पदाधिकारीहरु समेत आफ्नो जातिको पहिचान लागि मात्र लागिपरेको आरोप लगाउँदै उनले भने,‘सबैको आ–आफ्नो पहिचान छ , त्यो कायम हुनुपर्छ ।’

त्यस्तै राजवंशी समाज विकास समितिका निवर्तमान केन्द्रीय अध्यक्ष भीमराज राजवंशीले पनि आफूहरु सो आन्दोलनमा सरिक नहुने बताए । महासंघको आन्दोलनमा सहभागिता जनाउने विषयमा आफ्नो जातीय संस्थाभित्र सल्लाह नभएको उनले स्पष्ट पारे । झापा , मोरङ र सुनसरीमा बसोबास गर्ने कोच राजवंशीहरुले कोचिला प्रदेशका लागि आवाज उठाउँदै आएका छन् ।

जनजाति महासंघले जारी गरेको सो उर्दीप्रति महासंघका पूर्व महासचिव तथा ताजपुरिया समाजका संस्थापक अध्यक्ष नित्यानन्द ताजपुरियाले पनि आपत्ति जनाएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘जनजाति महासंघले प्रदेश नं १ को नामकरणसम्बन्धी आन्दोलनमा सहभागिताको उर्दी जारी गर्नुभन्दा सक्नु हुन्छ र क्षमता राख्नु हुन्छ भने कांग्रेसहरूले शेरबहादुर देउबालगायत र एमालेहरूले खड्गप्रसाद ओलीलगायतलाई महासंघको प्रष्ट ‘पहिचान जनित नाम’ तोकेर आदेश गराउनु होस् न । बाँकी राजनीतिक दलहरूलाई सहमत गराउने जिम्मा हामी लिन्छौ ।
खातिरदारी , चाकडी , झर्ला र खाउला भनेर पहिचान बिरोधीहरूको गर्ने , उर्दी चाहिँ पहिचान प्राप्तिको गर्ने ?नौटंकी’

झापामा आदिवासी जनजाति समुदायका २३ वटा जाति छन् । आइतबारको आन्दोलनमा झापाबाट राई , लिम्बू, नेवार जातिले मात्र सहभागिता जनाउने जानकारी पाएको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । आन्दोलनमा सहभागी हुने विषयमा सबै जातिलाई खबर नपुगेको उनले बताए ।

यसैबीच नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने तथा नामकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्