भद्रपुर,साउन ८। भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक बर्ष २०७८–०७९ को असार मसान्तसम्मको एक वर्षमा झापाका १० वटा पालिकाबाट विभिन्न शीर्षकमा जम्मा ८३ करोड २८ लाख ९ हजार ८ सय ३१ रुपैयाँ राजश्व संकलन गरेको छ ।

कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २ सय ३५ , अग्रिम कर १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षकबापत ४ लाख २५ हजारसहित उक्त राजश्व संकलन गरेको हो ।
यस आर्थिक वर्षमा जम्मा ५१ हजार १ सय ९६ वटा लिखद दर्ताबाट सो रकम बराबरको राजश्व संकलन भएको कार्यालयका प्रमुख योगेन्द्र दुलालले बताए ।अघिल्लो आर्थिक बर्षमा ७९ करोड २६ लाख २७ हजार ५ सय ९६ रुपैयाँ राजश्व संकलन भएको दुलालको भनाई छ ।

कोरोना कहर कम भएसंगै अघिल्लो आर्थिक बर्षको भन्दा यस आवमा राजश्व संकलनमा ६.७१ प्रतिशतले बृद्धि भएको कार्यालयका मालपोत अधिकृत ज्ञानेन्द्रबहादुर भण्डारीले बताए ।

झापाका १५ वटा स्थानीय तहमध्ये मेचीनगर,भद्रपुर ,कचनकवल ,बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा ,अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहको जग्गा किनबेचलगायतका सम्पुर्ण कारोवारहरु गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट २० करोड ४५ लाख ५९ हजार, ४ सय ९५ रुपैयाँ र सबैभन्दा कम झापा गाउँपालिकाबाट ७३ लाख ३३ हजार ७ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्