झापा , साउन ९ । एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको आयातमै खर्बौं रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ मा पेट्रोलियम पदार्थको आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो । जुन, अघिल्लो आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातबाट बाहिरिएको रकमभन्दा १ खर्ब ५६ अर्ब बढी हो । विभागका अनुसार पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धन (एटीएफ) आयातमै ३ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिएको हो । यो गत आर्थिक वर्षको साउन-असारसम्मको अवधिमा बाहिरिएको रकम हो । यस अवधिमा नेपालबाट सबैभन्दा धेरै रकम डिजेलको आयातमा बाहिरिएको छ । १२ महिनाको अवधिमा नेपालबाट डिजेलको आयातमा मात्रै १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । यसबापत नेपाल आयल निगमले राज्यलाई ६४ अर्ब ७१ करोड रुपैयाँ राजश्व बुझाएको छ । यस्तै, यस अवधिमा ७१ अर्ब ३८ करोड रुपैयाँ बराबरको पेट्रोल, ६५ अर्ब ५५ करोड रुपैयाँको एलपीजी ग्यास, १५ अर्ब १५ करोडको हवाई इन्धन आयात भएको छ । पेट्रोल आयातबाट राज्य कोषमा ३९ अर्ब ४ करोड, एलपीजी ग्यास आयात गर्दा १२ अर्ब २२ करोड, हवाई इन्धन आयातबाट ७६ करोड रुपैयाँ र मट्टितेल आयात बापत २० करोड ७१ लाख राजश्व संकलन भएको छ ।

१ खर्ब ५६ अर्बले बढ्यो आयात
तर, अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले जम्मा १ खर्ब २९ अर्ब ११ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको थियो । त्यस अवधिमा नेपालले ९१ अर्ब ९४ करोडको डिजेल, ३६ अर्ब ५ करोडको एलपीजी ग्यास, ३२ अर्ब ४४ करोड रुपैयाँको पेट्रोल, ३ अर्ब ६० करोडको हवाई इन्धन र १ अर्ब १३ करोडको मट्टितेल आयात भएको छ । यो गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा १ अर्ब ५६ करोडले बढी हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले अघिल्लो वर्षको तुलनामा पेट्रोलको खपत २४ प्रतिशतले बढेको जानकारी दिए । यस्तै, एलपीजी ग्यासको खपत १२ प्रतिशत र डिजेलको खपत २ प्रतिशतले बढेको उनको भनाइ छ । यस्तै, हवाई इन्धनको खपत ११९ प्रतिशत बढ्दा मट्टितेलको खपत २४ प्रतिशतले घटेको उपाध्यायको भनाइ छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्दा आयात बढेको उनको भनाइ छ । अघिल्लो वर्ष प्रतिब्यारेल ८० अमेरिकी डलर हाराहारीमा रहेको कच्चा पेट्रोलियमको मूल्य बढेर १३० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको थियो । जसले गर्दा खपतको परिमाण न्यून मात्रामा बढ्दा समेत आयात मूल्य डेढ खर्ब रुपैयाँभन्दा बढीले बढेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्