झापा , साउन ११ । राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ ।

एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।
नतिजा सार्वजनिक भएपछि विद्यार्थीको जन्म मिति, अङ्कलगायतमा गल्ती नहोस् भनेर यसपालि कडाइका साथ विद्यार्थीको विवरण रुजु (पुनः जाँच) गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुन गएको उनले बताए ।

पालिकाको चुनावका कारणले पनि नतिजा सार्वजनिक गर्न केही ढिलाइ भएको उनको भनाइ छ ।उनका अनुसार शिक्षा क्षेत्रका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा ढिलाइ भएको हो । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो ।

गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्