झापा , साउन १३ । भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको औषधि प्रहरीले बिहीबार साँझ विराटनगरबाट बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले विभिन्न प्रकारका औषधि साँझ ५ः३० बजेतिर नियन्त्रणमा लिएको हो। कार्टुनमा प्याक गरी तस्करी गरेर ल्याइएको औषधि विराटनगर महानगरपालिका-१७ रघुपति जुट मिल्सनजिकबाट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरीलाई देख्नासाथ औषधि तस्करीमा संलग्नहरु फरार बनेका थिए । तस्करीमा संलग्नको खोजी तीव्र पारिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार विभिन्न रोगको उपचारमा प्रयोग हुने १६ प्रकारका औषधि बरामद गरिएको छ । औषधि तीन लाख ६५ हजार पाँच सय ३३ रूपैयाँ बराबरको रहेको उनले बताए । बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाइने जानकारी डीएसपी श्रेष्ठले दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्