बिर्तामोड, साउन १३ । झापाका चार्टर्ड एकाउन्टेन्ट्सहरु संगठित भएका छन् ।

झापाको बिर्तामोडमा जिल्लाका चार्टर्ड एकाउन्टेन्टस्हरुको आज सम्पन्न भेलाले सात सदस्यीय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापा शाखा गठन गरेको हो ।

१ नं प्रदेशकै पहिलो चार्टर्ड एकाउन्टेन्ट्स संघ बिर्तामोड निवासी सुशीलकुमार अग्रवालको नेतृत्वमा गठन भएको छ । समितिको उपाध्यक्षमा अनिलकुमार प्रसाईं, सचिवमा गंगाराम बस्नेत र कोषाध्यक्षमा राहुल साहेवाला छन् भने श्रीप्रसाद निरौला, एञ्जिला मैनाली र समिर संग्रौला सदस्य रहेका छन् ।
पेशागत हकहित एवम् लेखा प्रणालीमा भइरहेको प्रविधिको विकासका बारे अन्तरक्रियात्मक ढंगले संस्थागत रुपमा प्रचारात्मक अभियानसमेत सञ्चालन गर्नेगरी झापामा संघ स्थापना गरिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए ।

अग्रवालकै अध्यक्षतामा आयोजित भेलाको उद्घाटन नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले गरेका थिए । नवनिर्वाचित अध्यक्ष अग्रवाललाई पाण्डेले सपथ ग्रहण गराए भने कार्यसमितिका अन्य पदाधिकारी–सदस्यलाई अध्यक्ष अग्रवालले सपथ गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै प्रमुख अतिथि पाण्डेले चार्टर्ड एकाउन्टेन्टस्हरुको संख्यामा गुणात्मक बृद्धि हुँदै गएकोले देशैभरि यसको सञ्जाल विस्तार गर्न थालिएको बताए ।

कार्यक्रममा संघका केन्द्रीय सुशील घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजाल, मेची भन्सार प्रमुुख केशवराज ओली, संघको प्रदेश नं १ का प्रमुख मनोज अधिकारी, नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था विराटनगर शाखाका संयोजक अश्विनी वंशल, नेपाल अडिटर्स एशोसिएशन झापाका अध्यक्ष होमनाथ उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राख्दै संघले कर तथा लेखा प्रणालीको आवश्यकता र महत्वलाई थप उजागर गर्न सक्रिय भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गरे ।

सोही अवसरमा आर्थिक ऐन २०७९ र नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिका सम्बन्धमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्