पथरी ,साउन १३ । कानेपोखरी गाउँपालिकाका विभिन्न सामुदायिक वनहरूमा अवैध रुपमा काठ चोरी निकासी बढ्दै गएको छ ।

बिहीबार कानेपोखरीस्थित ग्रामीण सुधार सामुदायिक बनबाट चोरी भएको ठूलो परिमाणको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प पथरी शनिश्चरे, सव–डिभिजन बन कानेपोखरी, ग्रामीण सुधार बनसहितको टोलीले गोप्य सूचनाका आधारमा कानेपोखरी –६ माझी टोल र मयुर काष्ठ मिल कानेपोखरी –४ रमाइलोबाट ४५.९९ क्यू फिट सालको गोलिया र चिरान काठ बरामद गरेको होे ।
सव–डिभिजन बन कार्यालय कानेपोखरीको मातहतमा रहेका ती सामुदायिक बनहरूमा पछिल्लो समय काठ चोरी निकासीका घटनाहरू बढ्दै गएपछि त्यहाँ सशस्त्र प्रहरीले सक्रियता बढाएको छ ।
चोरीको घटनामा संलग्न रहेको भन्ने जानकारी अनुसार कानेपोखरी–६ का दिलिप माझी र उनले प्रयोग गरेको सवारीसाधन समेतको खोजी कार्य तीव्र पारिएको ग्रामीण सुधार बनका अध्यक्ष नवीन राईले बताए ।